झापा, ११ फागुन । झोलामा बोकेका पर्चा र घोषणापत्र बाँड्दै झापा निर्वाचन क्षेत्र नं १ का गाउँबस्तीमा मत मागिरहेको हिरण्यप्रसाद भट्टराई कोशी प्रदेशको १४ जिल्लाका प्रत्यक्षतर्फका उम्मेदवारमध्ये सबैभन्दा पाको उमेरको रहेका छन् ।
मेचीनगर–१ गाडागल्ली निवासी भट्टराई यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाल किसान मजदुर पार्टीको उम्मेदवार हुन् । उमेरले पाको भए पनि उनी मतदाताको घर आँगन डुलेर मत माग्दा पटक्कै थाकेको देखिदैनन् ।
“मेचीनगर नगरपालिका क्षेत्रको २२ हजार मतदाता रहेको बाहुनडाँगीमा पैदलै घर दैलो गरिसकेको छु”, चुनावी चटारो बताउँदै उनी भन्छन्, “म उम्मेदवार भएको क्षेत्रमा दुई वटा नगरपालिका र एउटा गाउँपालिकाका २१ वटा वडा छन् । सबैतिर पैदल हिँडेर सम्भव नहुने भएकाले अब चाहीँ गाडी चढेर भोट माग्छु ।”
सेताम्य भइसकेका दाह्री र जुँघा र ठाडो चन्दन लगाएको हुलियाले मात्र होइन, स्वभाव र व्यवहारका दृष्टिले उनी आध्यात्मिक व्यक्तित्व हुन् । धार्मिक र आयुर्वेद विज्ञानमा गहिरो अभिरुची राख्दै आएको उनका जडीबुटीसम्बन्धी १४ पुस्तक प्रकाशित छन् ।
“नेपाली परम्परा र रीतिथितिको मौलिकताको जगेर्ना हुनुपर्छ भन्ने अभियानमा लाग्दै आएको थिएँ”, उनले चुनावमा उम्मेदवार बन्नुको कारण सुनाउँदै भने, “तपाईं जस्तो सामाजिक मान्छे चुनावमा उम्मेदवार बनेर संसद्मा जानुपर्छ भनेर पार्टीबाट अनुरोध आयो । मैले नकार्न सकिन र उम्मेदवार बनेँ ।”
झापा–१ का एक लाख ३१ हजार ६७ जना मतदातासँग मत माग्दै यतिबेला भट्टराईसँगै १३ दलका र दुई स्वतन्त्र गरी १५ जना उम्मेदवार घरदैलोमा व्यस्त छन् । यस क्षेत्रमा मेचीनगर नगरपालिकाको १५ वटा वडा, बुद्धशान्ति गाउँपालिकाको ४, ५, ६ र ७ तथा भद्रपुर नगरपालिकाको ९ र १० नम्बर वडासहित जम्मा २१ वटा वडा छन् ।
पाको शरीरका कारण धेरै हिँडडूल गर्दा स्वास्थ्यमा समस्या हुने गरेता पनि उहाँ उत्साहपूर्वक चुनावी प्रचारमा जुटिरहेका छन् । नयाँ जेनजी मतदातादेखि वृद्धवृद्धाले मत दिने आश्वासन दिलाउने गर्दा पाको उमेर बिर्सिएर नयाँ जोश र जाँगर आउने गरेको उनी बताउँछन्।
“बुढेसकालमा बा पनि उठ्नुभएछ, एउटा मत दिउँला भन्छन्, जेनजी नानीबाबु घरदैलोमा जाँदा मतदातासँगको संवाद सम्झिँदै उनी भन्छन्, “ज्येष्ठ नागरिक त झन् आफ्नै उमेरको हुनुहुँदोरहेछ भनेर जिताउने भन्नुहुन्छ । सबैले माया र विश्वास गर्नुभयो भने चुनाव जित्छु होला ।” चुनावमा जित हार जे भएता पनि आफूले सांसद बन्ने चुनावमा उठेर लोकतान्त्रिक अभ्यास गरेको उनको धारणा छ ।
अधिकांश पाको उमेरको व्यक्तिहरू घरमै थन्किएर बसेको जनाउँदै उनले उम्मेदवार बनेर ज्येष्ठ नागरिकको हक, हित र अधिकारको मुद्दा उठाएको बताए । झापा जिल्लाका पाँच वटा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ ९० जना उम्मेदवार चुनावी मैदानमा छन् । उनीभन्दा पाको उमेरको उम्मेदवार अर्को छैन । उनी आफूलाई फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको देशभरकै उम्मेदवारमध्ये सबैभन्दा पाको भएको दाबी गर्छन् ।
निर्वाचन आयोगले प्रकाशित गरेको कोशी प्रदेशका १४ जिल्लाका उम्मेदवारको सूची हेर्दा उनी प्रदेशकै सबैभन्दा पाको उम्मेदवार देखिन्छन् । कोशी प्रदेशको दोस्रो पाको उम्मेदवारमा ओखलढुङ्गा निर्वाचन क्षेत्र नं १ का राष्ट्रिय जनमोर्चाका उम्मेदवार शेरबहादुर खत्री हुन् । खत्री ८० वर्षीय हुन् । झापा–२ मा नेपाल जनमुक्ति पार्टीबाट उम्मेदवार बनेको मानवबहादुर पुलामी मगर पनि ७५ वर्षीय छन् । -चन्द्रकला भण्डारी/रासस




प्रतिक्रिया