काठमाडौं, फागुन १२ । काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा होलीको चीर ठड्याइएको छ । काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा मंगलबार बिहान मानन्धर समुदायले रंगीविरंगी कपडाहरुको ध्वजापताकासहितको तीन खण्डे चीर ठड्याएका छन् । साथै उनीहरुले एकअर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिएका छन् ।

फागुन शुक्ल अष्टमीका दिन चीर ठड्याएसँगै राजधानी काठमाडौंलगायत मुलुकभर औंपचारिक रुपमा होली पर्व सुरु भएको मानिन्छ । वसन्तपुरस्थित हनुमानढोका दरबारको दक्षिण पटाङगिनी, ऐतिकासिक मोहनकाजी चोक तथा दाखचोकमा ३२ फुट उचाईको तीनखण्डे गजुरजस्तो देखिने रंगीविरङगी होलीचीर ठड्याइएको हो । चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाई गरिएको थियो ।

आजै पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर परिसरमा पनि रंगीचंगी कपडा झुण्ड्याएर होली सुरु भएको जनाउ दिने गरिन्छ । यस वर्षको होली पर्वको मुख्य दिन चैत १८ र १९ गते परेको छ । १८ गते हिमाली तथा पहाडी जिल्लामा र १९ गते तराई जिल्लामा होलीको सार्वजनिक विदा दिइएको छ ।





प्रतिक्रिया