शेखरले सार्वजनिक गरे चुनावलक्षित ८ अठोट


काठमाडौं, फागुन १२ । नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नम्बर ६ का उम्मेदवार डा. शेखर कोइरालाले चुनाव लक्षित ८ अठोट सार्वजनिक गरेका छन्। उनले संसदीय सर्वोच्चता, संविधानको रक्षा, स्थायित्व र समुन्नतिका लागि आठ मुख्य बुँदामा आफ्नो प्रतिबद्धता व्यक्त गरेका हुन्।

कोइरालाले लोकतन्त्र भावनाले मात्र नभई संस्थाले टिक्ने उल्लेख गर्दै संविधान संशोधन र संघीयता सुदृढीकरणका लागि संसद्‌मा सक्रिय भूमिका खेल्ने पहिलो अठोट व्यक्त गरेका छन्। उनले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता र विधिको शासनको रक्षा गर्ने प्रतिबद्धता समेत जनाएका छन्।

औद्योगिक पुनर्जागरणलाई प्राथमिकतामा राख्दै उनले मोरङ ६ लाई उद्योगको ऐतिहासिक आधारका रूपमा विकास गर्ने जनाएका छन भने ‘रोजगारीका लागि विदेश होइन, आफ्नै क्षेत्र’ भन्ने नाराका साथ बन्द उद्योग पुनः सञ्चालन, विराटनगर विमानस्थलको स्तरोन्नति र स्थानीय युवालाई रोजगारीमा प्राथमिकता दिने अठोट व्यक्त गरेका छन्।

मोरङको मुख्य समस्याका रूपमा रहेको बाढी र डुबानबारे चर्चा गर्दै उनले बुढीखोला, केशलिया र सिंघिया जस्ता नदीहरूको दीर्घकालीन गुरुयोजना बनाई तटबन्ध निर्माण र वैज्ञानिक ड्रेनेज प्रणालीमार्फत स्थायी समाधान खोज्ने अठोट गरेका छन्। यस्तै, गिरिजा प्रसाद कोइराला क्रिकेट रंगशाला निर्माण सम्पन्न गर्ने विषयलाई पनि उनले आफ्नो योजनामा समेटेका छन्।