गलकोट (बागलुङ), १३ फागुन । निर्वाचनको समयमा इजाजत प्राप्त हातहतियार नबुझाए हतियारको अनुमतिपत्र (लाइसेन्स) खारेज गरिने भएको छ । बागलुङमा ३८ दिनमा इजाजत प्राप्त ५९ थान हातहतियार बुझाइएका छन् ।
जिल्लामा अझै ८३ थान हातहतियार बुझाउन बाँकी रहेकाले अटेरी गर्नेको लाइसेन्स खारेज गरिने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयले फागुन २१ गते हुने प्रतिनिभिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निजी हातहतियार बुझाउन आग्रह गरेअनुसार अहिलेसम्म ५९ थान हातहतियार जिल्ला प्रशासन कार्यालयमा बुझाइएको हो ।
बागलुङमा दर्तावाला मात्रै १४२ हतियार रहेकामा छन् । निर्वाचनको समयमा हुनसक्ने उच्छृङ्खल गतिविधि रोक्ने र शान्ति सुरक्षाका लागि इजाजत प्राप्त हातहतियार बुझाउन सम्बन्धित सबैलाई निर्देशन दिएकामा अहिलेसम्म ५९ थान लाइसेन्स प्राप्त भरुवा, ‘सट गन’लगायत हतियार प्राप्त भएको प्रमुख जिल्ला कृष्णप्रसाद आचार्यले जानकारी दिए ।
निर्वाचनलाई मध्यनजर गर्दै गत माघ ८ गते बसको जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जिल्लाभित्र विभिन्न व्यक्ति तथा समूहको नाममा रहेका सबै प्रकारका इजाजत प्राप्त हातहतियार र सोको खरखजाना बुझाउन सूचना जारी गरिएको थियो । जिल्ला प्रशासन कार्यालयले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न÷गराउन जिल्लाका विभिन्न व्यक्तिका नाममा इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको हो ।
प्रजिअ आचार्यका अनुसार निर्वाचन अघिसम्म हतियार बुझाउन पाइने बताए । उनले समयमा नबुझाएका हतियार निर्वाचनमा फेला परेमा लाइसेन्स रद्द गरिने जानकारी दिए । जिल्ला प्रशासनले इजाजत प्राप्त हातहतियार र विभिन्न काममा प्रयोग हुने गोलीगट्ठा जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरीचौकीमा बुझाउन सूचना जारी गरेको थियो ।
प्रहरीले निर्वाचन लक्षित गरी चलाएको ‘सर्च अप्रेशन’मा ११५ थान अवैध हातहतियार बरामद गरेको थियो । एक सय १५ थान हतियार अवैध रूपमा लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीले बरामद गरेको थियो । रासस




प्रतिक्रिया