काठमाडौं, फागुन १४ । सरकारले आजदेखि निर्वाचन अवधिभर मादक पदार्थको बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको छ । निर्वाचन सुरु हुनभन्दा ७ दिन अघिदेखि निर्वाचनको अन्तिम परिणाम सार्वजनिक नहुँदासम्म मदिराको विक्री विरणमा लगाउन सक्ने प्रतिबन्धको व्यवस्था अनुसार उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो।
यही फागुन २१ गते बिहान ७ बजेदेखि मतदान सुरु हुँदैछ। निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका २०७८ को दफा ३ अनुसार गठित समितिको बैठकले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न उक्त निर्णय गरेको जनाएको छ।
समितिको निर्णयअनुसार फागुन १८ गते राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध हुनेछ। यस अवधिमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायलाई निर्देशन दिएको छ।
त्यस्तै, मतदानको दिन अत्यावश्यक सेवा, कूटनीतिक नियोग तथा निर्वाचन प्रयोजनका लागि पास प्राप्त सवारीसाधनबाहेक अन्य सार्वजनिक र निजी सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ। यो व्यवस्था फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्म लागू हुनेछ।
अत्यावश्यक सेवाअन्तर्गत एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवा, सुरक्षा निकायका सवारीसाधन, विद्युत्, खानेपानी तथा ढल मर्मत, साथै दूरसञ्चार सेवा मर्मतका लागि प्रयोग हुने सवारीसाधन समावेश छन्।




प्रतिक्रिया