काठमाडौँ । स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले भोटेकोशीमा प्रलयकारी बाढी आएको दुई महिना बितिसक्दा पनि पीडितहरूले राहत र उद्धारको पूर्ण अनुभूति गर्न नपाएको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष धमलाले बाढी प्रभावितहरूको पुनर्स्थापना र पुनर्निर्माणको काम तत्काल थालेर आगामी ६ महिनाभित्र पीडितहरूलाई सुरक्षित घर उपलब्ध गराउन सरकारसँग माग गरे ।
‘भोटेकोशी बाढी गएको दुई महिना पुगिसकेको छ । घर बगाएकै ठाउँमा पुनर्स्थापना गर्न कत्तिको सम्भव छ, यसमा गम्भीर अध्ययनको खाँचो छ,’ धमलाले भने, ‘नुवाकोटको त्रिशूली बजारका धेरै नागरिकले सोही बजारमै पुनर्वास चाहेका छन् । घरका सदस्य बेपत्ता भएका परिवारहरू अझै बढी पीडामा छन् । अब ढिला नगरी पुनर्निर्माण शुरु गरेर आगामी छ महिनाभित्र पीडितलाई घर हस्तान्तरण गर्नुपर्छ ।’
उनले बाढी आएकै दिन आफू नुवाकोट पुगेर पीडितको अवस्था बुझेको र उद्धारलाई तीव्र बनाउन गृहमन्त्री सुधन गुरुङलाई विदेशबाट समेत विशेषज्ञ उद्धार टोली ल्याउन आग्रह गरेको स्मरण गराए ।
आर्थिक मुद्दामा टिप्पणी गर्दै धमलाले बजेटमार्फत लगाइएका केही करहरू खारेज हुनुपर्नेमा जोड दिए । ‘अर्थमन्त्री स्वर्णिम वाग्लेले ल्याएको बजेटलगत्तै मैले शिक्षा, स्वास्थ्य र बिजुलीमा लगाइएको भ्याट खारेज हुनुपर्छ भनेको थिएँ,’ उनले थपे, ‘अब तत्काल बिजुलीको भ्याट खारेज गरिनुपर्छ ।’
सुशासनका सन्दर्भमा बोल्दै अध्यक्ष धमलाले सरकारको काम कारबाहीमाथि प्रश्न उठाए । ‘भ्रष्टाचारीलाई कारबाही गर्न बालेन सरकारले किन सकिरहेको छैन ? सुशासन र भ्रष्टाचारीमाथि कारबाही खोइ ?’ धमलाले भने, ‘तथापि, बालेन सरकारले पाँच वर्ष पूरै काम गर्न पाउनुपर्छ । सरकार ढाल्ने खेलमा कोही पनि लाग्नु हुँदैन । सरकारका कमीकमजोरी भए सुधारका लागि निरन्तर खबरदारी भने गर्नुपर्छ ।’
उनले सरकारले शिक्षा र स्वास्थ्य पूर्ण रूपमा निःशुल्क गर्दै देशमा रोजगारीको वातावरण सिर्जना गर्नुपर्ने बताए । बजेट तथा विकासका योजनाहरू हुनेखानेका लागि मात्र नभई भुइँमान्छे, कर्णाली र सुदूरपश्चिमका सर्वसाधारणलाई लक्षित गरेर ल्याइनुपर्ने उनको भनाइ थियो ।
साक्षात्कार कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका नेता राजन दाहाल, श्रम संस्कृति पार्टीका महासचिव आर्यन राई र एमाले नेता अबुल हुसेनले पनि बाढीपीडितको राहत, उद्धार र समसामयिक राजनीतिक विषयमा आ–आफ्ना विचार व्यक्त गरेका थिए ।




प्रतिक्रिया