झापा–५ का नेकपाका उम्मेदवार रञ्जित तामाङको भिडिओ सन्देश : यो क्षेत्रमा कुनै अलायन्स हुने स्थिति छैन, भ्रमको पर्दा च्यातिदिनुहोस


काठमाडौं, १४ फागुन । नेपाली कम्युनिस्ट पार्टीका युवा नेता तथा २१ फागुनको प्रतिनिधिसभाको निर्वाचनमा झापा–५ का उम्मेदवार रञ्जित तामाङले कसैसँग चुनावी तालमेलको सम्भावना नरहेको र कोही पनि भ्रममा नपरी तारा चिह्नमा मतदान गर्न अपिल गरेका छन् । आज (बिहीबार) एक भिडिओ सन्देश जारी गर्दै उनले यो क्षेत्रमा कोहीसँग पनि चुनावी तालमेल वा कुनै पनि प्रकारको अलायन्स नहुने बताएका हुन् ।

तामाङ्ले भनेका छन्,‘कहिले टिकट प्राप्त गर्दैन, कहिले अलायन्स हुन्छ, कहिले कसलाई छोड्छ, कहिले कसलाई छोड्छ भन्ने अनेकौँ आरोहरअवरोह र अनुमानहरूलाई गलत साबित गर्दै म तपाईँहरूसँग सार्वजनिक बहस हुँदै मतदाताहरूको घरदैलोसम्म आइपुगेको छु। कुनै पनि हिसाबमा हाम्रो पार्टीको नेतृत्वले र कुनै पनि मूल्यमा अहिले कोहीसँग हाम्रो अलायन्स हुने स्थिति छैन। र घोषित–अघोषित त्यस्तो कुनै छलफल चलेको छैन।’ उनले सबैलाई अहिले सामाजिक सञ्जालमा चलेको अफवाह र भ्रमको पर्दा च्यातिदिन पनि आगह गरेका छन् ।