शंकर पोखरेलले आश मागे, बदलामा विश्वास दिने प्रण


काठमाडौं, १४ फागुन । नेकपा (एमाले) का महासचिव एवं प्रतिनिधि सभा निर्वाचनमा दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शंकर पोखरेलले जनताको आशा र अपेक्षालाई विश्वासमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आफ्नो जन्मभूमि तुलसीपुर उपमहानगरपालिका–१९ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले दाङको समृद्धि र समुन्नत भविष्यका लागि आफूलाई प्रतिनिधि सभा सदस्यमा विजयी गराउन आग्रह गरेका छन् ।

वडा कमिटीद्वारा आयोजित सभामा बोल्दै महासचिव पोखरेलले भावुक स्वरमा भने–‘तपाईंहरूले आश दिनुहोस्, म त्यसलाई विश्वासमा बदल्नेछु । जनताको मत मेरा लागि पद प्राप्तिको माध्यम होइन, दायित्व पूरा गर्ने अवसर हो ।’ विगतमा आफूले पाएको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गरेको स्मरण गराउँदै उहाँले त्यस अबधिमा दाङको सडक पूर्वाधार, सिचाइ, खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताए। अबको लक्ष्य दाङलाई आर्थिक रूपमा सबल र आत्मनिर्भर जिल्लाका रूपमा विकास गर्नु रहेको महासचिव पोखरेलले स्पष्ट पारे ।

उनले भने–‘दाङलाई केवल प्रशासनिक केन्द्र होइन, आर्थिक केन्द्रका रूपमा स्थापित गर्ने हाम्रो योजना छ । यस क्षेत्रको सिचाइ सुविधा सुनिश्चित गर्न ग्वार खोला बृहत जलाशय आयोजना निर्माणलाई पहिलो प्राथमिकतामा राखिएको जानकारी दिँदै उनले कृषिको आधुनिकीकरण र उत्पादन वृद्धिमार्फत स्थानीय अर्थतन्त्र सुदृढ पार्ने योजना सुनाए ।’

पोखरेलले आस्था र विचारभन्दा माथि उठेर विकासका पक्षमा एकताबद्ध हुन सबैलाई आह्वान गरे । उनले भने–‘विकास कुनै दल विशेषको मुद्दा होइन, यो सम्पूर्ण दाङवासीको साझा सपना हो ।’ यसैबीच तुलसीपुर–१६ मा आयोजित वडास्तरीय सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले विकास र समृद्धिको नेतृत्व गर्नसक्ने उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे । ज्ञापनपत्र बुझेर विकासका लागि मन्त्रालय धाउने नभई ज्ञापनपत्रलाई कार्यान्वयन गर्ने व्यक्ति आफूलाई विजयी बनाउन उनले आग्रह गरे ।