भाषण होइन, भोगाइबाट बनेको राजनीति: काठमाडौं–१ मा प्रवल थापा


काठमाडौँ, १५ फागुन । राजनीति धेरैका लागि भाषणको विषय हुन सक्छ, तर कतिपयका लागि त्यो जीवनकै कथा बन्छ। संघर्ष, जिम्मेवारी र माटोसँग गाँसिएको कथा। काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापा त्यही जीवनकथाको प्रतिनिधि पात्र हुन्।

थापागाउँमा जन्मिएका, हुर्किएका प्रवल थापाको जीवन सहज थिएन। २० महिनाको उमेरमै बुबा गुमाउँदा उनको बाल्यकाल जिम्मेवारीको भारीले छोपियो। आमाको संघर्ष, आँसु र धैर्यबीच हुर्किएका उनले दुःखको अर्थ किताबबाट होइन, जीवनबाट सिके। यही अनुभूतिले उनलाई समाज बुझ्ने दृष्टि दियो र राजनीतिलाई सेवा र जिम्मेवारीका रूपमा बुझ्ने बाटो देखायो।

काठमाडौं क्षेत्र नम्बर १ उनका लागि चुनावी नक्सा होइन, जीवनको भूगोल हो। माइतिघर, नयाँ बानेश्वर, गल्ली, बस्ती, विद्यालय, अस्पताल र आन्दोलनका दृश्य उनले आफ्नै आँखाले देखेका छन्। यहाँका सडक, पसल, कार्यालय र बस्ती उनका लागि केवल स्थान होइनन्, आफ्नै अनुभवका अध्याय हुन्। त्यसैले उनी भन्छन्, यो क्षेत्र बुझ्न अरूले पढ्नुपर्छ, मैले बाँचेर बुझेको छु।

विद्यार्थी राजनीतिबाट सुरु भएको यात्रा नेपाल विद्यार्थी संघ, तरुण दल, जिल्ला समिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य हुँदै आज प्रतिनिधि सभाको उम्मेदवारसम्म आइपुगेको छ। उनी चुनावका बेला मात्र होइन, नियमित रूपमा जनताकै बीचमा बसेर समस्या सुन्ने र समाधान खोज्ने अभ्यासमा छन्। संगठनमा लामो समय काम गरेका उनले राजनीति सत्ताको साधन होइन, सेवा गर्ने जिम्मेवारी हो भन्ने धारणा बनाएका छन्।

अष्ट्रेलियाबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेपछि पनि उनले विदेशमै सुरक्षित जीवन रोजेनन्। आफ्नै देश फर्केर व्यवसाय थाले र समाजसँग जोडिए। सुविधाको संसार छोडेर माटो रोज्नु सजिलो निर्णय थिएन। तर उनले यही माटोमा सम्भावना देखे। यही माटोसँगै भविष्य जोड्ने संकल्प गरे।

काठमाडौं क्षेत्र नम्बर १ राजधानीको केन्द्र भएकाले यहाँका समस्या पनि सामान्य छैनन्। ट्राफिक जाम, अव्यवस्थित पार्किङ, आन्दोलनका कारण प्रभावित व्यवसाय, सुकुम्बासी समस्या, शहरी गरिबी, कमजोर सार्वजनिक सेवा र असुरक्षित व्यावसायिक वातावरण यहाँका दैनिक यथार्थ हुन्। प्रवल थापा यी चुनौतीलाई नाराको विषय होइन, समाधानको जिम्मेवारी ठान्छन्।

उनका एजेन्डाको केन्द्रमा शहरी जीवन सुधार छ। ट्राफिक व्यवस्थापन र वैज्ञानिक पार्किङ, पैदलमैत्री सडक, भित्री बस्तीबीचको कनेक्टिभिटी, ढल निकासको आधुनिकीकरण, सार्वजनिक सेवा र प्राथमिक स्वास्थ्य केन्द्रको सुदृढीकरण, स्वच्छ खानेपानीको न्यायोचित वितरण जस्ता विषय उनले प्राथमिकतामा राखेका छन्। सहरको सौन्दर्यकरण, हरियाली र सम्पदा संरक्षणलाई उनले दीर्घकालीन पहिचानसँग जोड्छन्।

शहरी अर्थतन्त्रलाई बलियो बनाउन उद्यमशीलता, स्टार्टअप सहयोग, लघु तथा मझौला व्यवसाय प्रवद्र्धन, सीप विकास र रोजगारी सिर्जनालाई उनले मुख्य एजेन्डा बनाएका छन्। काठमाडौं क्षेत्र नम्बर १ लाई केवल बसोबासको ठाउँ होइन, गरीखाने ठाउँ बनाउने उनको लक्ष्य छ। आन्दोलनको केन्द्र भएकाले व्यवसायी पलायन हुने जोखिमप्रति उनी चिन्तित छन्। त्यसैले व्यावसायिक सुरक्षा र शान्त वातावरण निर्माणलाई उनले आफ्नो जिम्मेवारी ठान्छन्।

सुकुम्बासी समस्या समाधानलाई उनी भावनात्मक नारामा होइन, तथ्य, संवाद र न्यायोचित प्रक्रियामा आधारित गर्नुपर्ने बताउँछन्। वर्षौंदेखि थाती रहेको यो विषयलाई वैज्ञानिक तरिकाले टुंग्याउनु नै दीर्घकालीन समाधान हुने उनको धारणा छ।

प्रवल थापाको राजनीतिक सोच सुशासन र जवाफदेहितामा टेकेको छ। संसदमा देखिने मात्र होइन, बोल्ने र परिणाम दिने सांसद बन्ने उनको प्रतिबद्धता छ। सार्वजनिक खर्चमा पारदर्शिता, भ्रष्टाचारप्रति शून्य सहनशीलता, नियमित सार्वजनिक सुनुवाइ र वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्ने अभ्यासलाई उनले आफ्नो कार्यशैली बनाउने बताएका छन्। जनतासँग संवादलाई उनले चुनावी औपचारिकता होइन, निरन्तर प्रक्रिया ठान्छन्।

उनको राजनीतिक दृष्टि पुस्तान्तरणसँग पनि जोडिएको छ। पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा मिलाएर मात्र राजनीतिक संस्कृति बदल्न सकिन्छ भन्ने विश्वास उनी राख्छन्। युवाका रोजगारी, अवसर, पारदर्शिता र सुशासनका मुद्दा उनको एजेन्डाको केन्द्रमा छन्।

प्रवललाई अरूबाट फरक बनाउने कुरा उनको मानवीय यात्रा हो। अभाव, असुरक्षा र अवसर नपाउँदाको पीडा उनले आफ्नै जीवनमा भोगेका छन्। त्यसैले शहरी गरिबी, बेरोजगारी र सामाजिक असमानताका मुद्दाप्रति उनी संवेदनशील छन्। उनी भन्छन्, जनप्रतिनिधि चुनाव जितेर मात्र होइन, जनताको विश्वास जितेर बन्नुपर्छ। चुनावपछि पनि यही चोक, यही गल्ली र यही बस्तीमा रहने भएकाले उनको राजनीति केवल चुनावका लागि होइन, जीवनका लागि हो।

काठमाडौं क्षेत्र नम्बर १ का मतदाताका लागि यो चुनाव केवल उम्मेदवार रोज्ने निर्णय होइन, शहरको भविष्य रोज्ने निर्णय हो। संघर्षबाट आएको संवेदनशीलता, माटोसँग गाँसिएको अनुभूति र परिवर्तनको प्रतिबद्धता बोकेको नाम हो, प्रवल थापा।