काठमाडौं, १५ फागुन । रास्वपाका सभापति तथा पूर्व उपप्रधानमन्त्री रवि लामिछानेले यसपटकको निर्वाचनमा अन्य पार्टीले एक सिट पनि जित्न नहुने भन्दै रास्वपालाई मत दिन आग्रह गरेका छन् । आज चितवनमा आयोजित पार्टीको चुनावी आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पछिल्लो समय लामिछानेले प्रतिपक्षीविहीन संसद् हुने भन्दै रास्वपालाई मात्रै जिताउन अपिल गरेका छन् । आजपनि उनले यही कुरा दोहोर्याए ।
उनले आफूलाई अन्तिम इच्छा सोध्नेलाई फागुन २१ गते मतबाट देखाइदिन पनि आम जनतालाई आग्रह गरे । उनले भने,‘मविरुद्ध प्रमाण छ भनेको ६५८ दिन भएछ । अन्तिम इच्छा सोधिएको पनि धेरै दिन भएछ । तेरो अन्तिम इच्छा के हो भनेर बेडरुपमा सोधेको मैले जवाफ दिएको थिइनँ । मेरो अन्तिम इच्छा के हो ? फागुन २१ गते भोटबाट देखाइदिनुहोला ।’ उनले नेपाल मागी खाने देश नभएर गरिखाने देश भएको बताए । रास्वपाले देशमा सुशासनको मानक बनाउने पनि उनको उद्घोष छ ।
सम्बोधनको क्रममा उनले सिंहदरबार जलाउने र बालबालिकालाई गोली ठोक्नै एउटै भएको टिप्पणी गरे । उनले भने,‘सिंहदरबार त्यसैले जलायो जसले भ्रष्टाचारको अखडा बनायो । बालबालिकालाई गोली उसैले हान्यो । सिंहदरबार जलाउने र बालबालिकालाई गोली ठोक्ने एउटै हो ।’




प्रतिक्रिया