सात हजार मत ल्याउन नसकेपछि राजेन्द्र महतोको जमानत जफत


काठमाडौं, फागुन २५ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही–२बाट उम्मेदवार बनेका राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोको जमानत जफत भएको छ। सो क्षेत्रमा महतोसहित २९ जनाको जमानत जफत भएको हो । जसमध्ये १७ जना स्वतन्त्र उम्मेदवार रहेका छन्।

जमानत जोगाउन यस क्षेत्रका उम्मेदवारले सदर ७२ हजार ३८१ मतको १० प्रतिशतले हुन आउने सात हजार २३९ मत प्राप्त गर्नुपर्ने थियो। तर सम्पन्न मतपरिणाम अनुसार महतोले पाँच हजार ९९२ मत मात्र प्राप्त गरेपछि धरौटी जफत भएको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ खसेको कुल सदर मतको १० प्रतिशत भन्दा कम मत ल्याएको अवस्थामा उम्मेदवारको जमानत अर्थात् उम्मेदवारी दर्ता गर्दा राखेको रकम जफत हुने कानुनी व्यवस्था छ। उम्मेदवारबाट जफत भएको उक्त रकम राज्यकोषमा जाने निर्वाचन आयोगले उल्लेख गरेको छ। महतो चुनाव लडेको निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रविन महतो जिजयी भएका छन् । जहाँ महतो तेस्रो भएका छन् ।

सर्लाहीका चारवटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका महतोसहित १५४ जनाको जमानत जफत भएको छ।