काठमाडौं, २७ फागुन । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठले पार्टी सभापति गगन थापालाई अहिले राजीनामा नगर्न सुझाव दिएका छन् । उनले यस्तो कठिन समयमा राजीनामा दिनु भनेको पार्टी र देश दुवैको लागि पनि हितकर नहुने उनको तर्क छ । फेशबुकमार्फत श्रेष्ठले थापालाई यस्तो सुझाव दिएका हुन् ।
उनले भनेका छन्,‘गगन बाबु, तपाईंले देखाएको साहस, दृष्टि, र युवाहरूलाई प्रेरित गर्ने क्षमताले हामीलाई अझै दृढ बनाएको छ। यस कठिन घडीमा राजनीमा ल्याउनु वा राजनीमा गर्नुले पार्टी र देश दुवैका लागि हितकर हुँदैन। बरु, हामी सबै कांग्रेसीजनहरू एकढिक्का भएर तपाईंलाई साथ दिनु आवश्यक छ। तपाईंको नेतृत्वमा हामीले नयाँ ऊर्जा, नयाँ आशा, र नयाँ रुपान्तरणको बाटो देखिरहेका छौं। यस संकटको घडीमा तपाईंलाई पूर्ण समर्थन र ऐक्यबद्धता व्यक्त गर्दै, हामी सबै मिलेर नेपाली कांग्रेसलाई रुपान्तरण गर्ने यात्रामा अगाडि बढ्ने प्रतिज्ञा गर्दछौं। जय नेपाल।’
उनले फेशबुकमा लेखेका छन्–
प्रिय गगन बाबु,
सम्पन्न संघीय संसदको निर्वाचनको परिणाम हाम्रो अपेक्षाअनुसार आउन सकेन। तर, हाम्रो लागि निर्वाचनको नतिजा भन्दा पनि लोकतन्त्रको रक्षा, विधिको शासनको सुदृढीकरण, र राजनीतिक अस्थिरताको अन्त्य नै मुख्य महत्व राख्छ। देश फेरि लयमा फर्कन थालेको छ, र यस यात्रामा तपाईंको नेतृत्वले हामीलाई आशा र दिशानिर्देश दिएको छ।
यस निर्वाचनले नेपाली कांग्रेसलाई समयसापेक्ष बन्ने, युवाहरूको आकांक्षा आत्मसात गर्ने, र संगठनात्मक रुपान्तरण गर्ने गहिरो सन्देश दिएको छ। यो नेतृत्वको असफलता मात्र होइन, जनताको परिवर्तनको चाहनाअनुरूप कांग्रेसलाई पूर्ण रुपान्तरण गर्न नसकिएको चेतावनी पनि हो। अब निर्वाचनको सिकाइलाई आत्मसात गर्दै वडा तहदेखि गाउँ, नगर, क्षेत्र, जिल्ला र केन्द्रसम्म संगठन सुदृढीकरण गर्ने संकल्पका साथ अघि बढ्नु अपरिहार्य छ।
गगन बाबु, तपाईंले देखाएको साहस, दृष्टि, र युवाहरूलाई प्रेरित गर्ने क्षमताले हामीलाई अझै दृढ बनाएको छ। यस कठिन घडीमा राजनीमा ल्याउनु वा राजनीमा गर्नुले पार्टी र देश दुवैका लागि हितकर हुँदैन। बरु, हामी सबै कांग्रेसीजनहरू एकढिक्का भएर तपाईंलाई साथ दिनु आवश्यक छ। तपाईंको नेतृत्वमा हामीले नयाँ ऊर्जा, नयाँ आशा, र नयाँ रुपान्तरणको बाटो देखिरहेका छौं।
यस संकटको घडीमा तपाईंलाई पूर्ण समर्थन र ऐक्यबद्धता व्यक्त गर्दै, हामी सबै मिलेर नेपाली कांग्रेसलाई रुपान्तरण गर्ने यात्रामा अगाडि बढ्ने प्रतिज्ञा गर्दछौं।
जय नेपाल।




प्रतिक्रिया