हरिबोलको दाबी : मेरो ४ बुँदे प्रस्तावलाई प्रचण्डले गम्भीरतापूर्वक लिएको भए यो विडम्बनापूर्ण अवस्था आउने थिएन


काठमाडौं, २९ फागुन । नेपाली कम्युनिष्ट पार्टीका नेता हरिबोल गजुरेलले गत असोजमा तत्कालिन माओवादी हुँदा बसेको पदाधिकारी बैठकमा आफूले भूमिका सहित पेस गरेको ४ बुँदे लिखित प्रस्तावलाई नेतृत्वले गम्भीरतापूर्वक लिएको भए आजको यो विडम्बनापूर्ण अवस्था सम्भवतः आउने थिएन भनेका छन् । उनले अघि सारेका चार बुँदे प्रस्तावमा संसद्वादविरुद्धको संघर्षदेखि वैचारिक स्खलन र सुधारका आवश्यकता समेटिएका थिए ।

उनले फागुनको निर्वाचनमा संघीय मन्त्री वा सांसद भइसकेका कोही पनि उम्मेदवार हुन नहुने निर्णय गर्न सुझाव दिएका थिए । त्यसो गर्न सकिएमात्रै जनविश्वास पूनः स्थापित गर्न सकिने उनको बुझाई थियो । विगतमा विभिन्न तहमा रहेर प्रभावकारी भूमिका खेलेका तर संसदवादी प्रवृत्तिको विरोध गर्दै साइडमा बसेका कमरेडहरूलाई पुनः उत्साहित र सक्रिय बनाउने वातावरण तयार गर्न जरुरी रहेको पनि उनले आवश्यकत्ता औंल्याएका थिए ।

यस्तो छ उनको प्रस्ताव-

१) संसदवाद विरुद्धको संघर्ष :
एउटा चुनावदेखि अर्को चुनावसम्म सीमित सोच हावी हुनु र “जो संग मिलेर पनि चुनाव जित्ने” प्रवृत्ति विकसित हुनु — संसदवादमा फसेको स्पष्ट प्रमाण हो।
यस सन्दर्भमा, आगामी २०८२ फागुनमा हुने निर्वाचनमा संघीय मन्त्री वा सांसद भइसकेका कोही पनि उम्मेदवार नहुने निर्णय गर्न सकिएमा, जनविश्वास पुनः स्थापित गर्न मद्दत पुग्नेछ। यसले संसदवादको दाग मेटाउन पनि योगदान पु¥याउनेछ।
२) वैचारिक स्खलन र सुधारको आवश्यकताः
हामी विचारमा व्यवहारवाद र संगठनात्मक रूपमा उपयोगितावादको चङ्गुलमा नराम्रो संग फसेका छौं। जे जति गल्ति– कमजोरी भएका छन्, हेडोलोजीमै समस्या भएर हो । यसको ईलाज नगर्दासम्म समाजवादी क्रान्ति गफमै सिमित हुनेछ।
हामीले वैचारिक स्खलनलाई स्वीकार्दै अब यसप्रकारका भड्काव र विचलनबाट बच्ने दृढ प्रतिवद्धता गर्नुपर्छ। वैचारिक स्पष्टता र क्रान्तिकारी अनुशासन पुनस्र्थापना नगरेसम्म रूपान्तरण सम्भव हुँदैन।
३) नयाँ वातावरण निर्माणः
हिजो विभिन्न तहमा रहेर प्रभावकारी भूमिका खेलेका तर संसदवादी प्रवृत्तिको विरोध गर्दै साइडमा बसेका कमरेडहरूलाई पुनः उत्साहित र सक्रिय बनाउने वातावरण तयार गर्न जरुरी छ। अहिले जनताले उनीहरूको कुरा सुन्न र स्वीकार गर्न तयार छन् — यो अवसर गुमाउनु हुँदैन।
४) पार्टीभित्रको अतिवाद र संश्लेषणको आवश्यकताः
केन्द्रीय नेतृत्व जोडिएको सिन्धुली जिल्लामा देखिएको अस्वस्थ अन्तरसंघर्षहरूको उचित निरूपण र समाधान गर्नु अब अपरिहार्य छ। पार्टी एकता हुनु अघि वैचारिक र संगठनात्मक संश्लेषण हुनु अत्यावश्यक छ। समयमै संश्लेषण नगर्ने हो भने यसले पार्टीका अन्य काममा ब्यवधान ल्याउन सक्छ ।
हरिवोल गजुरेल
सचिवालय सदस्य, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)