काठमाडौं, चैत ४ । सङ्घीय संसद् सचिवालयले नवनिर्वाचित सदस्यको शपथग्रहण यसै साता भित्र गराउने तयारी गरेको छ । निर्वाचन आयोगले भोली अपराह्न ४ बजे निर्वाचन परिणामसम्बन्धी प्रतिवेदन राष्ट्रपतिलाई बुझाउदै छ । राष्ट्रपतिलाई प्रतिवेदन बुझाए लगत्तै सूचना प्रकाशित गरी शपथग्रहणको मिति तोक्ने सचिवालयको तयारी छ ।
प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यले शपथग्रहण गर्नुअघि नवनिर्वाचितमध्ये ज्येष्ठ सदस्यले शपथग्रहण गर्नुपर्ने छ । ज्येष्ठ सदस्यले शपथग्रहण गरेपछि मात्रै अन्य सदस्यको शपथग्रहण हुनेछ । नेपालको संविधान २०७२ को धारा ९१ (५) ले प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधि सभाको बैठकको उपस्थित सदस्यमध्ये उमेरको हिसाबले ज्येष्ठ सदस्यले गर्ने व्यवस्था गरेको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ मा उल्लेख भएबमोजिम सदस्यले प्रतिनिधि सभा वा त्यसको कुनै समितिको बैठकमा भाग लिनुअघि प्रतिनिधि सभाको अध्यक्षता गर्ने व्यक्तिसमक्ष शपथ लिनुपर्ने छ । राष्ट्रपतिले ज्येष्ठ सदस्यलाई शपथ गराएपछि प्रतिनिधि सभा बैठकको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले सभाका नवनिर्वाचित सदस्यलाई शपथग्रहण गराउने छन्। शपथग्रहण अघि राष्ट्रपतिबाट संविधान अनुसार सङ्घीय संसद्को अधिवेशन आह्वान हुनेछ । अधिवेशन बोलाइएपछि सांसदको शपथग्रहणसँगै सरकार गठनका अन्य प्रक्रिया अगाडि बढ्नेछन् ।
जानकारहरुका अनुसार निर्वाचन आयोगले निर्वाचन परिणाम समेटिएको प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदैमा नवनिर्वाचित प्रतिनिधि सभाका सदस्यले सांसदको हैसियत प्राप्त गर्दैनन् । संवैधानिक कानुन अनुसार सांसदको शपथग्रहणपछि मात्रै सांसदको आधिकारिक हैसियत प्राप्त गर्नेछन् ।
अव संविधानको धारा ७६ (१) बमोजिम अबको प्रधानमन्त्री नियुक्त हुनेछन् । यो धारा अनुसार राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा मन्त्रीपरिषद्को गठन हुने व्यवस्था रहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा बहुमत प्राप्त गरेको छ । सो धाराबमोजिम रास्वपाका संसदीय दलका नेता प्रधानमन्त्री नियुक्त हुने छन् । माघ ५ गते मधेश प्रदेशको जनकपुरमा आयोजना भएको सभालाई सम्बोधन गर्दै बालेनले भनेका थिए, ‘आइ एगो मधेशीया छौँडा प्रधानमन्त्री बनेला हई’ अर्थात् अब मधेशको केटो प्रधानमन्त्री बन्नेवाला छ।’
संवैधानिक व्यवस्था अनुसार प्रतिनिधिसभाको अन्तिम परिणाम घोषणा भएको ३५ दिनभित्र नयाँ प्रधानमन्त्री नियुक्त गरिसक्नुपर्छ । स्रोतका अनुसार चैत ९ गते सोमवारका दिन नयाँ प्रधानमन्त्रीको शपथ हुन सक्ने छ ।




प्रतिक्रिया