काठमाडौं, चैत ४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनको तयारीमा लागेका बेला नेपाली कांग्रेस र नेकपा (एमाले) भने पराजयको समीक्षामा जुटेका छन् । गत फागुन २१ गते समपन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसारको नतिजा ल्याउन नसकेको भन्दै कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी लगायतका पार्टी पराजयका कारणसहितको विस्तृत समीक्षामा जुटेका हुन् ।
कांग्रेसले प्राप्त निर्वाचन परिणामको समीक्षा, पराजयका कारणहरूबारे विस्तृत समीक्षा गर्न केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको छ। चुनावमा भएको पराजयको अनौपचारिक समीक्षा गरिरहेको कांग्रेसले यसै साताभित्र केन्द्रीय समितिको बैठक बोलाउने तयारी छ ।
यसअघि पार्टीले मातहतका सबै समिति तथा उम्मेदवारलाई निर्वाचन परिणामको समीक्षा प्रतिवेदन तयार गरी हिजो चैत ३ गतेभित्र केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको थियो। कांग्रेसले पार्टी सदस्यहरूको व्यापक सहयोग, साथ र समर्पण हुँदाहुँदै पनि निर्वाचन परिणाम अपेक्षाअनुसार नआएको स्वीकार गर्दै यसलाई आत्मसमीक्षाको विषय बनाएको छ ।
त्यसैगरी एमाले पनि पराजयको आन्तरिक समीक्षामा जुटेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली पितृशोकमा रहे पनि महासचिव शंकर पोखरेलले डिजिटल बैठक गरी पार्टीपंक्तिमा केन्द्रका विषयहरु राखिरहेका छन्। उनले पार्टी हार्नुको कारण लेखेर पठाउन मातहतका निकायलाई निर्देशन दिएका छन्।
यता, फागुन २१ को निर्वाचनपछि प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल बनेको रास्वपा नयाँ सरकार गठनको तयारीमा तीव्र रूपमा जुटेको छ। आफ्ना नवनिर्वाचित सांसदका लागि दुईदिने विशेष प्रशिक्षण सञ्चालन गरिरहँदा सरकारको नेतृत्वका लागि समेत आन्तरिक रणनीति जारी राखेको रास्वपाले संसदीय दलको नेता चयन र पार्टी विधान संशोधनको प्रक्रिया अघि बढाउने गृहकार्यसमेत सुरु गरेको छ।
पार्टीका सबै सांसद बन्द प्रशिक्षणमा संसदीय अभ्यास, नीति र शासन सञ्चालनबारे अभिमुखीकरण कक्षामा सहभागी भइरहेका बेला भावी प्रधानमन्त्रीका रूपमा हेरिएका बालेन्द्र शाह (बालेन) भने प्रशिक्षणमा सहभागी नभई सरकार निर्माणको गृहकार्यमा व्यस्त छन् । उनी सम्भावित मन्त्रिमण्डलको आकार, सदस्य छनोटका मापदण्ड र सरकारको प्रारम्भिक कार्यसूची र सरकार गठन प्रक्रियामा केन्द्रित हुँदा प्रशिक्षणमा सहभागी छैनन् ।




प्रतिक्रिया