काठमाडौं, चैत ४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदहरुको दोस्रो दिनको अभिमुखीकरण कार्यक्रम जारी रहेको छ । ललितपुरको होटल टुलिपमा मंगलबारदेखि अभिमुखीकरण कार्यक्रम आज विहान योग–ध्यान कक्षासँगै सुरू भएको हो।

आजको कार्यतालिका अहिले सांसदहरुलाई संसदीय अभ्यास, विधायिकी प्रक्रिया, नीति निर्माण, संसदीय समितिहरूको भूमिका, बजेट तथा कानुन निर्माण प्रक्रिया, साथै निर्वाचन क्षेत्रमा जनतासँग प्रभावकारी सम्बन्ध कायम राख्ने विषयबारे प्रशिक्षण जारी रहेको हो । प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदहरु सहभागी अभिमुखीकरण कार्यक्रमको अन्त्यमा आज पार्टी सभापति रवि लामिछानेले समापन मन्तव्य राख्ने कार्यक्रम छ ।

कार्यक्रममा सांसदहरूलाई नेपालको संवैधानिक व्यवस्था, संसद् सञ्चालन प्रणाली, विधायन प्रक्रिया, सुशासन र पारदर्शिताका मापदण्ड, नीति विश्लेषण, जनप्रतिनिधिको आचरण, सञ्चार तथा सार्वजनिक उत्तरदायित्व जस्ता विषयहरूमा जानकारी प्रदान गरिदै छ । पूर्वनिर्धारित कार्यतालिका अनुसार आज खाजा खाएर पूर्वसचिव डा. तोयानारायण ज्ञवालीले सरकार सञ्चालन प्रक्रियामा योजना तथा बजेट निर्माणबारे प्रशिक्षण दिएका छन् । त्यसपछि अर्का पूर्वसचिव प्रताप कुमार पाठकले ‘सुशासनः अवधारणा र अभ्यास’ सम्बन्धमा सिकाएका छन् ।

अहिले महामन्त्री कविन्द्र बुर्लाकोटी र केन्द्रीय सदस्य आरके ढुंगानाले पार्टी र सांसदको सम्बन्धः नयाँ राजनीतिक संस्कारमा सांसदको भूमिका, आचारसंहिता तथा न्यूनतम प्रतिबद्धताका विषयमा प्रस्तुति दिइरहेका छन् । यसपछि १२ बजेसम्म सांसदहरुद्वारा एजेण्डा प्राथमिकता निर्धारण सम्बन्धमा समूह कार्य तथा प्रस्तुति रहनेछ । मध्याह्न १२ बजेपछि सुरु हुने समापन सत्रमा प्रतिभा रावल र मनिष झाले एजेण्डा प्राथमिकता निर्धारणको प्रस्तुति प्रस्तुत गर्न सहजीकरण गर्नेछन् । अभिमुखीकरण कार्यक्रममा सहभागीहरुको तर्फबाट धन्यवाद मन्तव्य जेनजी सांसदद्व प्रशान्त उप्रेती र खिमा विकले राख्नेछन् ।

अन्त्यमा साढे १२ बजेदेखि १ बजेको बीचतिर सभापति रवि लामिछानेले पार्टीको रणनीति, दृष्टिकोण र नीतिगत प्राथमिकताबारे मन्तव्य राख्ने छन् । दिउँसो १ बजेको खाजासँगै अभिमुखीकरण कार्यक्रम सम्पन्न हुने तालिका छ ।





प्रतिक्रिया