काठमाडौं, चैत ५ । कांग्रेस सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्। केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् ।
फागुन २१ मा भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पार्टी र आफैंले अप्रत्याशित पराजय व्यहोरेपछि थापाले हिजै राजीनामा बुझाएका हुन् । उनको राजीनामाबारे भोली दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने केन्द्रीय कार्यसमिति बैठकले निर्णय गर्नेछ ।
‘अबकि बार, सय पार’ भन्ने नारा नै बनाएको कांग्रेस प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सहित ३८ सिटमा सीमित भएको छ । सभापति थापा आफैं सर्लाही–४ मा ठूलै मतान्तरले रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहसँग पराजित भएका थिए । सिंह ३५ हजार ६८८ मतसहित विजयी हुँदा थापाले २२ हजार ८३१ मत मात्र ल्याएका थिए ।
२७ देखि ३० पुससम्म भृकुटीमण्डपमा भएको कांग्रेस विशेष महाधिवेशनले थापाको १३४ सदस्यीय नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो । माघ १ गते सम्पन्न विशेष महाधिवेशनबाट उनी सभापतिमा सर्वसम्मत निर्वाचित भएका थिए ।त्यसको वैधानिकतालाई लिएर तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिट सर्वोच्चमा अहिले पनि विचाराधीन छ ।
फागुन २१ गतेको निर्वाचनपछि पहिलो पटक बस्न लागेको भोलीको केन्द्रीय कार्यसमिति बैठकमा चुनावी समीक्षा र आगामी कार्यदिशाबारे समेत छलफल हुने जनाइएको छ ।




प्रतिक्रिया