काठमाडौं, चैत ५ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदले आज प्रमाणपत्र बुझ्दैछन् । निर्वाचन आयोगले सोमबार सार्वजनिक गरेको सूची अनुसार ११० जना समानुपातिक सांसदले अहिले बिहान साढे ११ बजे प्रमाणपत्र बुझ्न लागेका हुन् ।
आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ५७, नेपाली कांग्रेसका २०, नेकपा (एमाले)का १६, नेपाली कम्युनिष्ट पार्टीका नौ, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चार/चार जना निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान गरिने आयोगले जनाएको छ । आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारलाई प्रमाणपत्र वितरण गरेपछि यसपटकको निर्वाचन प्रक्रियाले पूर्णता पाउनेछ।
दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका कुल १८२ सांसद निर्वाचित भएका छन्। निर्वाचनमा रास्वपा प्रत्यक्ष १२५ सिट र समानुपातिक ५७ सिटसहित कुल १८२ सिटसहित पहिलो दलका रूपमा उदाएको छ । नेपाली कांग्रेस प्रत्यक्षमा १८ सिट र समानुपातिकमा २० सिटसहित कुल ३८ सिट ल्याएर दोस्रो दल, नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्रत्यक्षमा नौ सिट र समानुपातिकमा १६ सिट ल्याएर कुल २५ सिटसहित तेस्रो दल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रत्यक्षमा आठ सिट र समानुपातिकमा नौ सिट ल्याएर कुल १७ सिटसहित चौथो दल, श्रम संस्कृति पार्टी कुल सात सिट ल्याएर पाँचौँ दल र राष्ट्रिय प्रजातन्त्र पार्टी कुल पाँच सिट पाएर छैटौँ दल हुन पुगेको छ । सबै सांसदहरुको सपथग्रहण चैत १२ गतेका लागि तय गरिएको छ ।




प्रतिक्रिया