गगनको राजीनामाबारे सूर्य थापाको टिप्पणी- बचपनापनको मजाक प्रदर्शन


काठमाडौं, चैत ५ । नेकपा (एमाले)का नेता सूर्य थापाले कांग्रेस सभापति गगन थापाको राजीनालाई ‘स्टन्ट’, ‘फण्डा’ र ‘मिलोमतो’को संज्ञा दिएका छन् । थापाले चुनावी पराजयपछि नैतिक जिम्मेवारी लिँदै सभापति पदबाट राजीनामा दिएपछि फेसबुकमार्फत् प्रतिक्रिया दिँदै त्यसलाई ‘स्टन्ट’, ‘फण्डा’ र ‘मिलोमतो’को संज्ञा दिएका हुन् ।

गगन थापाको राजीनामाबारे स्पष्टता नभएको भन्दै उनले समाचारहरु सार्वजनिक भएपनि त्यसको औपचारिक पुष्टि हुन नसकेको, सम्बन्धित व्यक्तिले समेत स्पष्ट भनाइ नराखेको र राजीनामापत्रसमेत सार्वजनिक नभएकाले ७८ वर्ष लामो इतिहास बोकेको कांग्रेसजस्तो पार्टीमा यस्तो अभ्यास हुनु ‘बचपनापनको मजाक’ भएको टिप्पणी गरेका छन् ।

गगन थापाले वास्तवमै राजीनामा दिइएको हो भने पार्टीको केन्द्रीय कार्यालय, प्रवक्ता, उपसभापति तथा सभापतिले सार्वजनिक गर्नुपर्ने जनाउदै उनले लेखेका छन्, ‘राजीनामा दिनेले दिएको भनेका छैनन्, बुझ्नेले हो पनि भनेको पाइँदैन, राजीनामाको औपचारिक पत्रसमेत गायब छ । अझ यो स्टन्ट, फण्डा र मिलोमतोजस्तो मात्रै देखिन्छ। ७८ बर्ष लामो इतिहास बोकेको सुधारिएको कांग्रेसमा अभ्यास गरिएको यो प्रकरण बचपनापनको मजाक प्रदर्शनबाहेक केही होइन । यदि हो भने केन्द्रीय कार्यालय, प्रवक्ता, उपसभापति र स्वयं सभापतिले जिम्मेवारी लिने, जवाफदेही हुने र आधिकारिकता पुष्टि एवं सार्वजनिक गर्ने हिम्मत त देखाउनु पर्ने नि! राजीनामा दिनेरनदिने सम्बन्धित व्यक्तिले प्रदर्शन गरेको ४८ वर्ष लामो जीवन र जवानीको निचोड होला, हामीलाई केही मतलब छैन। तर मोही माग्ने ढुंग्रो लुकाउने तरिका वाहियात भयो !’