नेविसंघको १२औं महाधिवेशन ०८३ को बैशाख २० र २१ गते गर्नेगरि प्रस्ताव पेश


काठमाडौं, ६ चैत्र । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको १२औँ महाधिवेशनको आगामी ०८३ को वैशाख २० र २१ गतेका लागि प्रस्ताव गरिएको छ । आज (शुक्रबार) सुरु भएको नेविसंघको सिनेट बैठकमा अध्यक्ष दुजाङ शेर्पाले सो प्रस्ताव पेश गरेका हुन् ।

अध्यक्ष शेर्पाद्वारा प्रस्तावित कार्य तालिकाअनुसार चैत १७ गते अधिवेशन प्रतिनिधि चयन÷प्रतिनिधि नामावली प्रकाशन, चैत २५ गते माध्यमिक विद्यालयमा अधिवेशन, चैत २७ गते स्थानीय तहका अधिवेशन, चैत २९ गते क्याम्पस, कलेज, प्रतिष्ठान र सीटीईभीटीअन्तर्गतका शिक्षालयमा अधिवेशन, वैशाख ६ गते ७७ जिल्लामा अधिवेशन, वैशाख ८ र ९ गते क्याम्पस इकाई अधिवेशन, वैशाख १० र ११ गते विश्वविद्यालय क्याम्पस समिति र समन्वय समितिका अधिवेशन, वैशाख १५ गते प्रदेश अधिवेशन र २० र २१ गते केन्द्रीय महाधिवेशन गर्ने भनिएको छ ।