सांस्कृतिक एकताले राष्ट्रियतालाई सुदृढ बनाउँदछ : राष्ट्रपति


काठमाडौं, ७ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक एवं साँस्कृतिक विविधताबीचको एकताले नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाउने बताएका छन्। इस्लाम धर्मावलम्बीको महान् चाड ईद–उल–फित्रका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले ईद पर्वले मुस्लिम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वद्र्धन र विकास गर्न टेवा पुग्ने विश्वासपनि व्यक्त गरेका छन् ।

“यस पर्वले सम्पूर्ण नेपालीबीच आपसी समझदारी, दिगो शान्ति एवम् भाइचाराको भावनाका साथै बृहत राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।” राष्ट्रपतिद्धारा जारी सन्देशमा उल्लेख छ ।

ईद पर्व मुस्लिम समुदायले रिस, राग र द्वेषलाई बिर्सेर आपसमा खुसीयाली साटासाट गर्दै शुभकामना आदान प्रदान गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ । ईदमा विशेष नमाज समर्पण गरिसकेपछि आशीर्वाद लिने र दिने गरिन्छ । सो अवसरमा मिष्टान्न परिकार खाने र खुवाउने परम्परा रहीआएको छ । अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत गरेका मुस्लिम समुदायले आज विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर आज इद उल फित्र पर्व मनाउँदै छन् ।

खुसीपूर्वक दान गरेर दीन दुःखी एवम् गरीबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । शनिबार बिहान नेपाली जामे मस्जिद घन्टाघरमा विशेष नमाज पाठ गरिनेछ । आजभन्दा एक महिना अघिदेखि मुस्लिम समुदायको एक महिना लामो ब्रत (रोजा) सुरु भएको थियो । एक वर्षभित्र गरेका पाप कटाउन यो ब्रत गरिने गरिन्छ । एक महिनासम्म सूर्योदयदेखि सूर्यास्त नहुने बेलासम्म ब्रत गरेर साँझ चन्द्रमाको पूजा गरिएको थियो ।