बालेन सरकारमा सबैभन्दा बढी बागमती र कम कर्णालीबाट प्रतिनिधित्व


काठमाडौं, चैत ७ । हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक नतिजा अनुसार ७७ मध्ये ३९ जिल्लाको प्रतिनिधित्व समानुपातिकमा शून्य छ । ३८ जिल्लाबाट मात्र समानुपातिकमा सदस्य निर्वाचित भएका छन् । यस्तै प्रदेशगत रूपमा कर्णालीबाट निकै न्यून प्रतिनिधित्व भएको छ ।

११० सदस्यमा समानुपातिकमा कर्णालीबाट चार जना मात्र निर्वाचित भएका छन् । सदनमा झन्डै दुई तिहाइ मत पाएको तथा समानुपातिकमा ५७ सिट हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट कर्णालीमा एक जना पनि सदस्य निर्वाचित भएनन् । समानुपातिकमा चार सिट पाएको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पनि कर्णालीमा प्रतिनिधित्व छैन ।

प्रदेशगत रूपमा सबैभन्दा बढी प्रतिनिधित्व बागमती र कम कर्णालीको रहेको छ । बागमतीमा पाँच वटा राजनीतिक दलबाट ३७ जना निर्वाचित भएका छन् । श्रम संस्कृति पार्टीबाट भने बागमती प्रदेशमा प्रतिनिधित्व शून्य छ । बागमतीमा सबैभन्दा बढी रास्वपाबाट रास्वपाबाट २४ निर्वाचित हुँदा नेकपा (एमाले) बाट चार, नेपाली कांग्रेसबाट पाँच, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट दुई र राप्रपाबाट दुई जना निर्वाचित भएका छन् ।

यस्तै कोशी प्रदेशबाट निर्वाचित भएका २३ जना मध्ये सबैभन्दा बढी रास्वपाबाट नौ, कांग्रेसबाट आठ, एमालेका चार र श्रम संस्कृति पार्टीका दुई जना कोशीबाट निर्वाचित भएका छन् । नेकपा र राप्रपाबाट कोशीमा कुनै प्रतिनिधित्व छैन । मधेशबाट १६ जनाको प्रतिनिधित्वमा रास्वपाका सात, कांग्रेसका चार, एमालेका दुई र अन्य तीन दलका एक÷एक सदस्य निर्वाचित भएका छन् । बागमतीबाट २३ जना निर्वाचित भएका छन् ।

लुम्बिनी प्रदेशबाट १३ जना निर्वाचित भएका छन् । लुम्बिनीमा रास्वपाका नौ, एमालेका दुई तथा राप्रपा र नेकपाबाट एक/एक जनाको प्रतिनिधित्व छ । कांग्रेस र श्रम संस्कृतिबाट लुम्बिनीमा कुनै पनि सदस्य निर्वाचित भएका छैनन् । सुदूरपश्चिममा रास्वपाबाट छ, नेकपाबाट तीन तथा कांग्रेस र एमालेबाट एक/एक जना सदस्य निर्वाचित भएका छन् । राप्रपा र श्रम संस्कृतिबाट सुदूरपश्चिममा प्रतिनिधित्व छैन ।

गण्डकी प्रदेशबाट रास्वपाका दुई, एमालेका दुई तथा कांग्रेस र नेकपाका एकरएक जना निर्वाचित भएका छन् । अन्य दलको प्रतिनिधित्व छैन । कर्णालीबाट कांग्रेस, एमाले, नेकपा र श्रम संस्कृतिबाट एक/एक जना निर्वाचित भएका छन् । त्यहाँबाट समानुपातिकतर्फ रास्वपा र राप्रपाका प्रतिनिधित्व भएको छैन ।