काठमाडौं, चैत ८ । प्रतिनिधि सभामा १८२ सिट जित हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वमा एकल सरकार गठन हुने भएसँगै पार्टीका शीर्ष नेता आन्तरिक छलफल र तयारीमा जुटेका छन् । रास्वपा प्रवक्ता मनिष झाका अनुसार नवनिर्वाचित सांसदको चैत १२ गते संसद् भवनमा शपथग्रण गर्ने र त्यसपछि संसदीय दलको हालको विधान परिमार्जनलाई अन्तिम रूप दिएर संसदीय दलको नेता चयन गर्ने तयारी रहेको छ ।
संसदीय दलको नेता चयन गरी प्रधानमन्त्रीको शपथग्रहण गर्नेबारे प्रक्रिया अघि बढाउने गरी सभापतिमा रवि लामिछाने, प्रधानमन्त्रीका उम्मेदवार एवं वरिष्ठ नेता बालेन्द्र शाह, उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्ले लगायतका नेताहरु प्रधानमन्त्रीको शपथको लागि राष्ट्रपति कार्यालयमा प्रस्ताव पठाउने, शपथ समारोहमा विदेशी राष्ट्र प्रमुखलाई आमन्त्रण गर्ने लगायतबारे गृहकार्य भइरहेको जनाइएको छ ।
रास्वपाको विधान, २०७९ को धारा ६६ मा सङ्घीय संसद्मा निर्वाचित साधारण सदस्य रहने तथा धारा ६६ (८) मा पार्टीका साधारण सदस्यले संसदीय दलको नेता चयन गर्ने व्यवस्था छ । उक्त विधानमा पार्टीका तर्फबाट सङ्घीय निर्वाचनमा समानुपातिक र प्रत्यक्षतर्फ निर्वाचित उम्मेदवारबाट प्रतिनिधि सभा संसदीय दलको नेता छनोटका लागि निर्वाचन गर्नुपर्ने उल्लेख छ ।
रास्वपा गठन भएसँगै पार्टीको विधान महाधिवेश भइनसकेको अवस्थामा उक्त विधान परिमार्जन गर्ने अधिकार केन्द्रीय समितिमा छ । सोही अनुसार पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई विधान परिमार्जन गरी संसदीय दलनको नेता चयन गर्नेबारे र सोही अनुसार सरकार गठनका लागि रास्वपा नेताहरु आन्तरिक गृहकार्यमा जुटेका हुन् ।
सांसदको शपथको भोलिपल्ट चैत १३ गते प्रधानमन्त्रीको शपथ र मन्त्रीपरिष्द गठनको तयारीमा रहेको रास्वपाले १५ देखि १८ सदस्यीय मन्त्रीपरिषद् गठन गर्ने तयारी रहेको छ ।




प्रतिक्रिया