काठमाडौं, ८ चैत्र । नेपाली कम्युनिष्ट पार्टीका प्रभावशाली युवा नेता तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रमेश मल्लले २१ फागुनको निर्वाचनलाई सफल बनाउनको लागि आफूहरुले निर्णायक भूमिका खेलेको स्मरण गराएका छन् । अहिलेको निर्वाचनमार्फत नेपालमा लाकेतान्त्रिक प्रक्रियाले जितेको भन्दै यसमा आफूहरु खुशी रहेको उनको प्रतिक्रिया छ । उनले भने,‘हामीले निर्वाचनको परिणामलाई स्वागत गरेका छौं । लोकतन्त्रले जितेको छ । जनताले जितेका छन् । हाम्रो साईज के हो त्यो मुख्य कुरा होईन ।’
हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि थपलियासँगको कुराकानीमा उनले निर्वाचन हुनु नै सबभन्दा ठूलो कुरा भएको भन्दै अहिले संविधान, लोकतन्त्र र देश पनि सही ट्रयाकमा आएको बताए । उनले भने,‘हामीले सहर्ष रुपमा यो परीणामलाई स्विकारेका छौं । यो निर्वाचनमा स्वाभाविक रुपमा घण्टीप्रति लहर थियो । नयाँको नाममा यसपटक मत घण्टीमै गयो । हामी यसमा गुनासो गरेर बस्दैनौं ।’ कर्णालीमा राम्रो नतिजा ल्याउनेमा आफूहरु विश्वस्त भएपनि अहिले दोस्रो दलमा खुम्चिएको उनको भनाई छ । अब बन्ने सरकारलाई आफ्नो दलको रचनात्मक रुपमा सहयोग रहने पनि मल्लको भनाई छ ।
आफ्नो दलको संयोजक प्रचण्ड अनुभवी नेता भएकोले यो सदनमा प्रचण्डको उपस्थितिले राम्रो हुने उनको तर्क छ । उनले भने,‘यो पार्लियामेन्टभित्र अनुभवी नेताको पनि आवश्यक होला, देश सञ्चालनको लागि पनि अनुभवपनि चाहियो, उहाँको उपस्थिति जरुरी होला । उहाँ त गणतन्त्रको नायक हो । थुप्रै कार्यसूची बाँकी छन् । राजतन्त्र अन्त्य गरेर गणतन्त्र ल्याउने र मुलुकको कोर्स बदल्ने नेता प्रचण्ड हो । अहिले पनि प्रचण्डलाई जनताले पार्लियामेन्टमा पठएका छन् ।’
कांग्रेस र एमालेले संसदीय दलको नेता नयाँलाई बनाउनुपर्ने दबाब भएपनि आफ्नो पार्टीका प्रमुख प्रचण्डले जितेकोले अहिले दलको नेतामा प्रचण्डको विकल्प नभएको उनको तर्क छ । उनले पार्टी नेतृत्वको हकमा भने महाधिवेशनबाट नेतृत्व हस्तान्तरणको बहस हुने भएपनि संसदीय दलको नेतामा प्रचण्डको विकल्प नभएको बताए ।
उनले नेपालका कम्युनिष्टहरु अहिलेको निर्वाचनको परिणामबाट ब्यँुझिएको भन्दै अब मिल्नुको विकल्प नभएको बताए । अब कम्युनिष्ट पार्टीलाई एक ठाउँमा ल्याउने र नयाँ पुस्तालाई नेतृत्वको जिम्मा दिनुपर्नेको विकल्प नभएको उनको भनाई छ । उनले अब सम्पूर्ण वाम आन्दोलनको एकता नै आजको आवश्यकत्ता भएको औंल्याए ।
नेकपाका संयोजक प्रचण्ड र एमालेका अध्यक्ष केपी ओलीलाई एकता चाहिएको वा नचाहिएको कुरा आफूलाई थाहा नभएपनि नेपालमा कम्युनिष्टहरुको एकता आवश्यक रहेको उनको भनाई छ । उनले भने,‘सबभन्दा पहिला छातीमा हात राख्ने अनि गल्ती गरिएछ कि भन्ने निश्कर्ष निकाल्ने, पद र अवसर खोज्दाखोज्दै हामी यहाँ पुगेका रहेछौं भन्ने निश्कर्षमा पुग्ने, सम्मान छोड्ने, सबै चिज छोडेर जमिनमा फर्किनुपर्छ ।’




प्रतिक्रिया