काठमाडौं, ८ चैत्र । नेपाली कांग्रेसका सहमहामन्त्री उदयशमशेर जबराले हालै सम्पन्न भएको निर्वाचनमा कुनै एक व्यक्तिको कारण पार्टीले निर्वाचनमा पराजय नभएको भन्दै हारको जिम्मा सबैले लिनुपर्ने बताएका छन् । उनले निर्वाचनको परिणामलाई लिएर सभापति गगन थापाले राजीनामा दिएको भन्दै यसलाई स्वाभाविक रुपमा लिएको प्रतिक्रिया दिए ।
आज (आइतबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार खेम बमसँगको कुराकानीमा उनले सभापति थापाले नैतिकताको आधारमा राजीनामा दिएको स्पष्ट पारे । तर, केन्द्रीय कार्यसमितिको बैठकमा सभापतिलाई राजीनामाको लागि धन्यवाद दिँदै राजीनामा फिर्ताको लागि दबाब दिईएको उनको भनाई छ ।
उनले अहिले निर्वाचनको परिणामलाई लिएर प्रारम्भिक समिक्षा सुरु गरिएकोले विस्तृत समिक्षा पछि गरिने बताए । पार्टीले निर्वाचनमा ठूलो हार व्यहोरेको कारण यसको जिम्मेवारी को हो भनेर पार्टीका कार्यकर्ताहरुले आलोचना गर्नु स्वाभाविक भएको भन्दै यसमा कुनै एक व्यक्तिको मात्र दोष नभएको उनको तर्क छ ।
कांग्रेस, एमाले र नेकपासँग नेपाली जनताले वाक्क भइसकेको अवस्था रहेको स्मरण गराए । तर, आफ्नो निर्वाचन क्षेत्रमा एक थोपा पनि अन्तरघात नभएको उनको दाबी छ । कतिपय क्षेत्रमा अन्तरघात भएको कुरा पनि आएको भन्दै यो अन्तरघात पहिलोपटक नभएकोले यसबारेमा समिक्षा गरिने उनको भनाई छ ।
उनले भने,‘०६२÷०६३ सालदेखि कांग्रेस, एमाले र नेकपासँग जनता असन्तुष्ट थिए, रास्वपा वैकल्पिक शक्तिको रुपमा उदाएको थियो, त्यसलाई हामीलाई मध्यनजर गरेनौं, जेनजी आन्दोलनपनि पूरानो नेतृत्वप्रति आक्रोश थियो, त्यसलाई पनि हामीले ट्याकल गरेनौं । तर, हामीले विशेष महाधिवेशनमा नेतृत्वमा परिवर्तन ल्याएका थियौं ।’
रास्वपाले नेपाली जनताको आकांक्षा पूरा गर्नुपर्ने भन्दै सरकारलाई आफ्नो दलको सहयोग र समर्थन पनि रहने उनको भनाई छ । उनले रास्वपालाई आफ्नो दलको रचनात्मक सहयोग गर्ने उनको भनाई छ । उनले भने,‘हामीले पनि रास्वपाको घोषणापत्र पढेका छौं । त्यो पूरा गर्न हामीले उहाँहरुलाई नैतिक दबाब दिन्छौं ।’




प्रतिक्रिया