सोपान फर्मास्यूटिकल्स लिमिटेडको आईपीओ आजदेखि खुला, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता


काठमाडौँ, ९ चैत । सोपान फर्मास्यूटिकल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गर्दै आज (चैत ९ गते) देखि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ।

सोपान फर्मास्यूटिकल्स लिमिटेड ले जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत बराबर ४२ करोड ९० लाख रुपैयाँको ४२ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ, जसअन्तर्गत १० प्रतिशत अर्थात ४ लाख २९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि खुला गरिएको हो।

कम्पनीले ५ प्रतिशत शेयर सामूहिक लगानी कोषका लागि र ४ प्रतिशत शेयर कर्मचारीका लागि छुट्याएको छ भने बाँकी ३४ लाख ७४ हजार ९०० कित्ता सर्वसाधारणका लागि निष्काशन गरिनेछ। आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सकिनेछ र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले चैत १२ गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ भने आवेदन मेरो शेयर तथा सि–आस्बा प्रणालीमार्फत दिन सकिनेछ।

आईपीओका लागि केयर रेटिङ्ग नेपाल ले कम्पनीलाई केयरएनपी बी इस्यूअर रेटिङ्ग दिएको छ, जसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ। कम्पनीको साधारण लगानी फिर्ता अवधि ८.११ वर्ष र डिस्काउण्ट लगानी फिर्ता अवधि ११.३५ वर्ष रहेको बताइएको छ।