बढ्दो आयात निर्भरता : नेपालको व्यापार घाटा ११ खर्ब नजिक


काठमाडौँ, ९ चैत । नेपालमा बढ्दो परनिर्भरता सँगै व्यापार घाटा लगातार चुलिँदै गएको देखिएको छ। भन्सार विभागको फागुन मसान्तसम्मको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा कुल वैदेशिक व्यापार १४ खर्ब ४० अर्ब रुपैयाँ नाघ्दा करिब ११ खर्ब रुपैयाँ व्यापार घाटा भएको छ।

यस अवधिमा १२ खर्ब ८९ अर्ब रुपैयाँ बराबरको आयात हुँदा निर्यात भने १ खर्ब ९१ अर्ब रुपैयाँमा सीमित रहेको छ। नेपालले सबैभन्दा ठूलो व्यापार घाटा भारतसँग ५ खर्ब ६७ अर्ब रुपैयाँ र चीनसँग २ खर्ब ६४ अर्ब रुपैयाँभन्दा बढी व्यहोरेको छ।

त्यस्तै अर्जेन्टिना, संयुक्त अरब इमिरेट्स र इण्डोनेसियासँग पनि उल्लेख्य घाटा देखिएको छ। इन्धन (डिजेल, पेट्रोल, एलपी ग्यास) आयात उच्च रहँदा भटमास तेल, स्मार्टफोन, फलामजन्य वस्तु, सुन र चाँदी पनि प्रमुख आयातका वस्तु बनेका छन्। निर्याततर्फ भटमास तेल, अलैँची, कार्पेट र सूर्यमुखी तेल अग्रस्थानमा रहेका छन्।

साथै, खाद्यान्नमा बढ्दो निर्भरता झल्काउँदै चामल आयात २७ अर्ब रुपैयाँ नाघेको छ, जसले नेपालको अर्थतन्त्रमा दबाब थपिएको संकेत गर्दछ।