कालंगा हाइड्रोको आईपीओ आजदेखि खुला, प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो प्राथमिकता


काठमाडौँ, १० चैत । कालंगा हाइड्रो लिमिटेडले आज (चैत १० गते) देखि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात ४९ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा पहिलो चरणमा १४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि खुला गरिएको छ।

त्यसमध्ये अति प्रभावित क्षेत्रका बासिन्दालाई ९ लाख १० हजार कित्ता र अन्य प्रभावित क्षेत्रका बासिन्दालाई ४ लाख ९० हजार कित्ता शेयर छुट्याइएको छ। साथै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ३ लाख ५० हजार कित्ता शेयर छुट्याइएको कम्पनीले जनाएको छ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका लागि आवेदन छिटोमा चैत २४ गते र ढिलोमा २०८३ वैशाख ९ गतेसम्म खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छिटोमा चैत १५ गते र ढिलोमा चैत २४ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले सञ्चालन गरेको १५.३३ मेगावाट क्षमताको कालंगागाड जलविद्युत आयोजनाबाट २०७९ माघ २७ गतेदेखि व्यवसायिक विद्युत उत्पादन सुरु भइसकेको छ।