बुढीगण्डकी जलविद्युत् आयोजनाको लगानी मोडालिटी स्वीकृत, १२ सय मेगावाटको परियोजना निर्माण प्रक्रिया अघि बढ्दै


काठमाडौँ, १० चैत । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको लगानी मोडालिटी स्वीकृत गरेसँगै आयोजना निर्माण प्रक्रिया थप अघि बढेको छ।

मन्त्रिपरिषद्को बैठकले गत फागुन १२ गते लगानी मोडालिटी स्वीकृत गरेको थियो भने यसको औपचारिक जानकारी गत साता ऊर्जा मन्त्रालयलाई प्रदान गरिएको हो। आयोजना प्रमुख कार्यकारी अधिकृत अरुण रजौरियाका अनुसार मुख्य निर्माण कार्य २०८४ पुसदेखि सुरु गर्ने योजना बनाइएको छ।

गोरखा–धादिङ सिमानामा निर्माण हुने आयोजनाका लागि आवश्यक जग्गा अधिग्रहणको काम लगभग पूरा भइसकेको छ भने असारभित्र सर्वेक्षण अनुमतिपत्र लिने तयारी भइरहेको छ। स्थायी क्याम्प, पहुँचमार्ग र पुल निर्माणसम्बन्धी लट–१ को ठेक्का यसै आर्थिक वर्षभित्र आह्वान गरिनेछ।

चालु आर्थिक वर्ष २०८२/८३ को बजेटबाट ४६ करोड रुपैयाँ विनियोजन गरिएको छ। लगानी मोडालिटीअनुसार आयोजनामा ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋण लगानी हुने छ। कुल लागत ४ खर्ब ४ अर्ब रुपैयाँ अनुमान गरिएको छ। आयोजना सम्पन्न भएपछि नेपालका लागि राष्ट्रिय गौरवको परियोजना बन्ने र विद्युत् उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।