काठमाडौं, १० चैत्र । पूर्वमन्त्री गणेश शाहले अब बन्ने सरकारसँग जनताले ठूलो आशा गरेको बताएका छन् । नयाँ सरकार आउनेबित्तिकै धेरै ठूलो कायापलट हुन्छ भन्ने जनतामा आशा र आकांक्षा रहेको उनको भनाई छ । रास्वपाले चुनाव जितेसँगै चुनौति पनि थपिएको उनको टिप्पणी छ । उनले हिजो राज्य–सत्ता चलाएका कांग्रेस, एमाले र नेकपाभित्र कलह सुरु भएको उनको भनाई छ ।
आज (मंगलबार) विहान प्राइभ टिभीबाट प्रसारण भएको ‘प्राइम सम्वाद’ कार्यक्रममा पत्रकार कृष्ण मल्लसँगको कुराकानीमा उनले पूराना दलहरु अब पूरानै ढर्राबाट चल्न नसक्ने भन्दै पूनर्जन्मको लागि नयाँ सोच र कार्यशैलीबाट चल्नुपर्ने सुझाव दिए । उनले पूराना वामपन्थीहरुलाई उठ्न गाह«ो रहेको विश्लेषण गरे । यथास्थितिमा कम्युनिष्ट पार्टीहरु अब उठ्न नसक्ने बरु दिनप्रतिदिन तल खस्किने बताए । उनले नेपालमा प्रचण्ड र ओलीहरुको फेज (समय) नै सिद्दिएको घोषणा गरे ।
उनले भने,‘जनताले अहिलेको भोटमा देखाईसके, प्रचण्डले त अस्ति ५० प्रतिशत केन्द्रीय सदस्यहरुले भोट हालेनन् भनेर भन्नुभयो, आफ्नै कार्यकर्ताले भोट नहालेपछि जनताले कहाँबाट भोट हाल्नु ?’ उनले नेपालमा आधुनिक कम्युनिष्ट पार्टी हुनुपर्ने आवश्यकता औंल्याए । नेपालमा वामपन्थी आन्दोलनमा आकर्षण घटेको उनको विश्लेषण छ । नेपाली कांग्रेसभित्रको विवाद चाहीँ कुनै न कुनै रुपमा मिल्ने उनको मत छ ।
अहिलेको चुनावमा सबैभन्दा ठूलो दल बनेको रास्वपाभित्र नेताहरुले एक अर्कालाई चिन्न नै बाँकी रहेको उनको भनाई छ । रास्वपामा पढेलखेका र युवाहरुको समिश्रण रहेको भन्दै समाजले खोजेको परिवर्तन उनीहरुले दिनसक्ने विश्वास दिलाए । उनले रास्वपाले मूल रुपमा जनताले चाहेको सुशासनको प्रत्याभूति दिलाउनुपर्ने सुझाव दिए । संविधान संशोधन आफैंमा गहन र जटिल विषय भएकोले यसमा छलफल सुरु गरेपनि हतार नगर्न उनको सुझाव थियो ।
उनले रास्वपा नेतृत्वलाई भूराजनीतिको गाम्भीर्यता बुझ्न पनि आग्रह गरेका छन् । उनले अहिले मुलुकले राजनीतिक भन्दापनि आर्थिक एजेण्डासहित सामाजिक न्याय खोजेको भन्दै त्यसतर्फ ध्यान दिनपनि उनले अब बन्ने सरकारको नेतृत्वलाई सजग गराए । उनले भने,‘यही संविधानमा सानो तिनो संशोधन चाहेको हो भने त्यो पनि गरौं, तर मूल रुपमा आर्थिक र सुशासनको पक्षमा काम गर्नुपर्छ ।’
उनले अब प्रधानमन्त्रीलाई सकभर २ वर्षसम्म विदेश भ्रमण नगर्न र गतिका साथ काम गर्न सुझाव दिए । उनले भने,‘अब बन्ने प्रधानमन्त्रीलाई मेरो सुझाव छ, तपाईं अब दुई वर्ष विदेश भ्रमण नगर्नुहोस । विज्ञान कुटनीतिको चलन छ, यसमा फोकस हुनुपर्छ ।’




प्रतिक्रिया