कीर्तिपुरमा ६८ काग मृत फेला, बर्डफ्लु संक्रमण पुष्टि


काठमाडौं, चैत ११ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो संख्याका कागमा बर्डफ्लु संक्रमण पुष्टि भएको छ। कीर्तिपुर नगरपालिका र पशु सेवा विभागको संयुक्त टोलीले त्रिवि परिसरबाट संकलन गरिएका कागको परीक्षणपछि संक्रमण पुष्टि गरेको हो।

टोलीले मृत फेला परेका ६८ वटा काग संकलन गरी मंगलबार गाडेको जनाएको छ। केही काग अझै फेला परेकाले संकलन कार्य जारी रहने बताइएको छ। नगरपालिकाकी पशुसेवा प्रमुख सुशीला गैरेका अनुसार एक साताअघि स्थानीयबाट काग मरेको जानकारी प्राप्त भएपछि नमूना परीक्षणका लागि १० वटा काग प्रयोगशालामा पठाइएको थियो।

परीक्षणपछि ती कागमा बर्डफ्लु पुष्टि भएको हो। यसपछि संयुक्त टोलीले थप काग संकलन र व्यवस्थापन सुरु गरेको हो। सोही क्षेत्रमा अन्य पंक्षी मृत भेटिएमा नमूना संकलन गर्न पनि निर्देशन दिइएको छ। संकलन गरिएका कागहरू खाल्डो खनी गाडिएको जनाइएको छ। उक्त क्षेत्रमा अन्य चराको अस्वाभाविक मृत्यु भने नदेखिएको बताइएको छ।

पशु सेवा विभागका अनुसार परीक्षणका क्रममा एच एन वान र एच नाइन प्रकारका बर्डफ्लु भाइरस देखिएको छ। यसअघि पनि राजधानीका विभिन्न स्थानमा यस्तै संक्रमण देखिएको थियो ।