टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओमा स्थानीयका लागि आवेदन दिने आज अन्तिम दिन


काठमाडौँ, ११ चैत । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेड ले फागुन २७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले आवेदन दिने आज (चैत ११ गते) अन्तिम दिन रहेको छ।

कम्पनीले जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत बराबर ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ मूल्यको ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो, जसमध्ये १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता शेयर भोजपुर जिल्ला का आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको हो।

यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीलाई केयर रेटिङ्ग नेपाल ले केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग दिएको छ, जसले औसत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरेको ८ मेगावाट क्षमताको टक्सार पिखुवा खोला जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ८८ करोड २१ लाख रुपैयाँ रहेको छ भने आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले प्रभु बैंक र सिटिजन्स बैंक इन्टरनेशनल का भोजपुर शाखासहित विभिन्न स्थानबाट आवेदन दिन सक्नेछन्।