सोपान फर्मास्युटिकल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


काठमाडौं,१२ चैत । सोपान फार्मास्यूटिकल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज चैत १२ गते अन्तिम दिन रहेको छ। कम्पनीले चैत ९ गतेदेखि पहिलो चरणअन्तर्गत उक्त समूहका लगानीकर्ताका लागि शेयर बिक्री खुला गरेको थियो ।

यस चरणमा कम्पनीले श्रम स्वीकृति लिएर विदेशमा कार्यरत नेपालीहरूका लागि ४ लाख २९ हजार कित्ता शेयर छुट्याएको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले यसपछि सर्वसाधारणका लागि ३४ लाख ७४ हजार ९०० कित्ता शेयर निष्काशन गर्ने तयारी गरेको जनाएको छ।

नेपाल धितोपत्र बोर्डले फागुन १७ गते कम्पनीलाई कुल ४२ करोड ९० लाख रुपैयाँ बराबरको ४२ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति दिएको हो।आईपीओ निष्काशनपछि सोपान फर्मास्युटिकल्स नेप्सेमा सूचीकृत हुने दोस्रो औषधि उत्पादक कम्पनी बन्नेछ । स्वदेशमै गुणस्तरीय औषधि उत्पादन गरी आयात प्रतिस्थापन गर्ने, निर्यात प्रवर्द्धन गर्ने तथा व्यापार घाटा न्यूनीकरण गर्ने लक्ष्यसहित स्थापना भएको कम्पनीले वि.सं. २०७४ मा पूर्वाधार निर्माण सुरु गरेको थियो।

२०७८ मा परीक्षण उत्पादन सम्पन्न गरी २०७९ सालदेखि व्यावसायिक उत्पादन सुरु गरिएको हो।ललितपुरको महालक्ष्मी नगरपालिका–८ मा करिब २१ रोपनी ९ आना क्षेत्रफलमा सञ्चालनमा रहेको उद्योगमा अत्याधुनिक प्रविधियुक्त उत्पादन संरचना रहेको कम्पनीले जनाएको छ। यहाँ नन–बेटा लाक्टम र सेफलोस्पोरिन ब्लकमार्फत ट्याब्लेट, क्याप्सुल, मल्हम, लिक्विड तथा ड्राइ सिरप उत्पादन हुँदै आएको छ ।

कम्पनीका अनुसार एक सिफ्ट सञ्चालनमा वार्षिक ८४ करोड ट्याब्लेट, ९ करोड ६० लाख क्याप्सुल, ३ लाख लिटर लिक्विड, ३० लाख बोतल ड्राइ पाउडर र २४ लाख ट्युब मल्हम उत्पादन क्षमता रहेको छ। बजारको मागअनुसार उत्पादन क्षमता थप विस्तार गर्न सकिने सम्भावना पनि रहेको कम्पनीले जनाएको छ। त्यस्तै, उद्योग परिसरमै सञ्चालनमा रहेको अक्सिजन ग्यास प्लान्टमार्फत विभिन्न क्षमताका अक्सिजन सिलिन्डर तथा पोर्टेबल क्यान उत्पादन तथा वितरण भइरहेको छ।

हालसम्म कम्पनीले १३६ औषधिको उत्पादन अनुमति र ९२ औषधिको बजार अनुमति प्राप्त गरिसकेको छ भने थप औषधिहरू उत्पादनको पाइपलाइनमा रहेका छन् ।ऊर्जा र औषधि उत्पादन जस्ता क्षेत्रतर्फ लगानी बढ्दै गएको सन्दर्भमा यस आईपीओलाई दीर्घकालीन औद्योगिक लगानीको अवसरका रूपमा हेरिएको छ।