कर्मचारी सञ्चय कोषले आर्थिक वर्ष २०८१/८२ मा ५ अर्ब ३० करोड रुपैयाँ मुनाफा वितरण


काठमाडौँ, १२ चैत । कर्मचारी सञ्चय कोषले आर्थिक वर्ष २०८१/८२ मा आर्जन गरेको कुल मुनाफाबाट आफ्ना सञ्चयकर्ता र योगदानकर्ताहरूलाई पाँच अर्ब ३० करोड रुपैयाँ मुनाफा वितरण गरेको छ।

कोषका अनुसार सञ्चयकर्ताको व्यक्तिगत खातामा करिब पाँच अर्ब १९ करोड र निवृत्तिभरण कोषका योगदानकर्ताको खातामा करिब १० करोड ५५ लाख रुपैयाँ जम्मा गरिएको छ। सञ्चालक समितिको फागुन २७ गतेको निर्णयअनुसार व्यक्तिगत खातामा रहेको मौज्दात रकमको १.०० प्रतिशत दरले मुनाफा वितरण गरिएको हो।

कर्मचारी सञ्चय कोषले प्रत्येक वर्षको कुल मुनाफाको करिब ९० प्रतिशत रकम सञ्चयकर्ताको खातामा जम्मा गर्ने नीति लिएको छ भने बाँकी रकम विभिन्न कल्याणकारी तथा जगेडा कोषमा राख्ने गरेको छ। हाल सञ्चयकर्ताले ८.२५ प्रतिशत ब्याज पाउँदै आएका छन्, जसमा १.०० प्रतिशत मुनाफा जोडिँदा कुल प्रतिफल ९.२५ प्रतिशत पुग्नेछ।

साथै, कोषले घर, शैक्षिक, मर्मत, सरल र जग्गा खरिदका लागि सापटी सुविधा उपलब्ध गराउँदै आएको छ। गत आर्थिक वर्षमा मात्र सुत्केरी, शिशु स्याहार, काजकिरिया, दुर्घटना क्षतिपूर्ति र स्वास्थ्य उपचारमा कोषले करोडौं रुपैयाँ वितरण गरेको थियो। हाल कोषमा ५ लाख ७८ हजार सञ्चयकर्ता र ९६ हजार निवृत्तिभरण कोषका योगदानकर्ता आबद्ध रहेका छन्।