नेप्से परिसूचकमा वृद्धि, बजार २८५१ विन्दुमा बन्द


काठमाडौँ, १७ चैत । मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि घट्दै आएको नेप्से, आज भने बढेको देखिएको हो ।

कारोबारको सुरुवातमा २८०० विन्दुभन्दा तल झरेको नेप्से पछि टेवा पाएर २८५१.०९ विन्दुमा पुगेको छ, जसले १९.७० अंकको वृद्धि देखाएको छ। सेन्सेटिभ इण्डेक्स ३.२६ अंक, फ्लोट इण्डेक्स १.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०२ अंकले बढेका छन् ।

तर, नेप्से बढे पनि कारोबार रकम घटेको छ। सोमबार करिब १३ अर्ब रुपैयाँको कारोबार भए पनि मंगलबार ३३९ स्टकको १ लाख ३७ हजार ८५७ पटकको कारोबारमा ११ अर्ब ११ करोड २४ लाख १८ हजार रुपैयाँबराबरको २ करोड ७९ लाख ४२ हजार कित्ता शेयर किनबेच भएको छ ।

आज रिलायन्स स्पिनिङ्ग मिल्स, भुजुङ्ग हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी र होटल फरेष्ट इनको शेयर सकारात्मक सर्किटमा कारोबार भएको छ। सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयर मूल्य करिब १० प्रतिशत बढेको छ भने अन्य धेरै स्टकको मूल्य ४ प्रतिशतभन्दा बढीले बढेको छ।

विपरीत, सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य सर्वाधिक ८.९६ प्रतिशत घटेको छ।कारोबार रकमको आधारमा रिडी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ, जसको करिब ४८ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

त्यसैगरी, अपि पावरको ४१ करोड र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ३७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.९४ प्रतिशतले सर्वाधिक वृद्धि भएको छ। वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ, जबकि म्युचुअल फण्ड र अन्य केही उपसमूहको परिसूचक सामान्य घटेको छ।