काठमाडौं, चैत १९ । आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा यस वर्ष सामूहिक अनुगमन निषेध गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षलाई थप पारदर्शी र व्यवस्थित बनाउन सामूहिक अनुगमनमा निषेध गरिएको हो । आज देशभर तोकिएका परीक्षा केन्द्रमा पाँच लाख १२ हजार ४२१ जना विद्यार्थीले अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिदैछन् ।
बोर्डका अनुसार परीक्षा केन्द्र अनुगमनका नाममा विभिन्न सङ्घसङ्गठनका प्रतिनिधि हलमा प्रवेश गर्दा परीक्षा दिइरहेका परीक्षार्थीको लेखन कार्यमा अवरोध पुगेको गुनासो आएपछि यस वर्ष सामूहिक अनुगमनमा रोक लगाइएको हो । अनुगमनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ ।
यस वर्ष परीक्षालाई व्यवस्थित र उत्तरपुस्तिका परीक्षणलाई छिटोछरितो बनाई शीघ्र नतिजा प्रकाशन गर्न नयाँ निर्देशिका जारी गरिएको छ । उत्तरपुस्तिका परीक्षक र संपरीक्षक परीक्षण केन्द्रमा नै हुने भएकाले परीक्षा सम्पन्न भएको बढीमा तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण सम्पन्न गरिसक्ने बोर्डको दाबी छ ।अहिले बिहान ८ः०० बजेदेखि एकै समयमा सुरु हुने एसइई परीक्षा चैत २९ गते सम्पन्न हुनेछ ।




प्रतिक्रिया