इन्डोनेशियामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी


इन्डोनेशियामा बिहीवार बिहान स्थानीय समयानुसार ६:४८ बजे ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएको छ।

सुरुमा ७.८ म्याग्निट्यूड मापन गरिएको उक्त भूकम्प मोलुका सागरमा गएको अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसले जनाएको छ।

भूकम्पको केन्द्रबिन्दु टेर्नेट सहरबाट झन्डै १२० किलोमिटर टाढा थियो। उक्त सहरमा दुई लाखभन्दा बढी मानिसको बसोबास छ।

भूकम्पपछि इन्डोनेशिया, फिलिपिन्स र मलेशियाका तटीय क्षेत्रहरूमा सुनामी आउन सक्ने भन्दै चेतावनी जारी गरिएको थियो। तर अधिकारीहरूले अहिले उक्त चेतावनी हटाएका छन्। केन्द्रबिन्दुनजिकै रहेका टापुमा बस्ने मानिसहरूले बीबीसीलाई बताएअनुसार भूकम्पपछि त्यहाँ डर र विनाशको वातावरण छाएको छ।