ओलीको विकल्प खोल्दै एमाले युवा नेता, सुरु गरे विशेष महाधिवेशन माग्दै हस्ताक्षर अभियान


काठमाडौं, चैत २२ । नेकपा (एमाले)को शीर्ष नेतृत्वको कार्यशैलीप्रति प्रश्न उठिरहेका बेला युवा पंक्तिले पार्टीभित्र विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान सुरु गरेका छन्।

११औं महाधिवेशनले अत्यधिक मतान्तरसहित केपी ओलीलाई तेस्रोपटक अध्यक्ष बनाएको साढे ३ महिना नबित्दै महाधिवेशन प्रतिनिधि, जनवर्गीय संगठनका पदाधिकारीहरू र पार्टीकै केन्द्रीय कमिटी सदस्यहरूले ओलीको विकल्प खोज्दै संयुक्त अभियान थालेका हुन्।

नेतृत्व परिवर्तनको अभियानलाई केन्द्रदेखि, प्रदेश कमिटी हुँदै जिल्ला र स्थानीय तहसम्मै लैजाने नेताहरूको तयारी रहेको बुझिएको छ। तेस्रो पुस्ता नेताहरू सुहाङ नेम्वाङ, समिक बडाल, नरेश रोकायाहरू पनि नेतृत्व परिवर्तनको पक्षमा खुलेका छन्। प्रत्यक्ष रुपमा नदेखिए पनि अप्रत्यक्ष रुपमा यसअभियानमा पार्टी उपाध्यक्ष विष्णु पौडेल, गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ, उपमहासचिव योगेश भट्टराई, कर्ण थापा, गोकुल बास्कोटालगायतका नेताहरुले प्रत्यक्ष साथ दिइरहेको पार्टी पंक्तिमा चर्चा रहेको छ ।