दुई वर्ष अगाडिको मितिमा पत्र दर्ता गराएर दार्चुलातर्फ लागे हर्क


काठमाडौं, चैत २४ । श्रम संस्कृति पार्टीका संसदीय दलका नेता तथा प्रतिनिधिसभा सदस्य हर्कराज राई एक साताका लागि दार्चुलातर्फ लागेका छन् । दुई वर्ष अगाडिको मिति राखेर आगामी एक साता प्रतिनिधिसभा र समितिका बैठकमा अनुपस्थित नहुने जानकारी गराउँदै सासंद राई दार्चुलातर्फ लागेका हुन् ।

सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद राईले विशेष कामको कारण देखाउँदै संसद् सचिवालयलाई आफ्नो अनुपस्थितिको जानकारी गराएका हुन् । उनले सभामुखको निजी सचिवालयमा दर्ता गराएको पत्रअनुसार उनी सोमबारको बैठकमा उपस्थित भएनन् ।

प्रतिनिधिसभा नियमावली २०७९ को नियम २१३ बमोजिम उनले आफ्नो अनुपस्थितिबारे सभामुखलाई पूर्वजानकारी गराएका हुन् । सांसद राईले आफ्नो दल श्रम संस्कृति संसदीय दल, सिंहदरबारलाई पनि यसको बोधार्थ दिएका छन् ।

उनले दर्ता गराएको पत्रमा साल भने दुई वर्ष अगाडि अर्थात् २०८० राखेका छन् । उनले स्वयम् सामाजिक सञ्जालमा सार्वजनिक गरेको छुट्टीको पत्रमा मिति गलत भएको देखिएको हो । उनले उक्त पत्र सार्वजनिक गर्दै मंगलबार बिहान फेसबुकमा लेखेका छन्, ‘धेरै फण्डा नगर्नु । अरु जस्तो होइन म । जय संसद ।’

उनी झोलङ्गे पुल निर्माण गर्ने उद्देश्यसहित दार्चुलातर्फ अघि बढेका छन्। हिजो धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै उनले दार्चुलामा निर्माण हुन लागेको पुलका लागि सबैलाई श्रमदानमार्फत सहभागी हुन आह्वान गरेका थिए।