प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूद्वारा सामूहिक शिष्टाचार भेट


काठमाडौँ, २५ चैत । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँग नेपालस्थित विभिन्न देशका कूटनीतिक नियोगका प्रमुख एवं राजदूतहरूले आज सामूहिक शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उनीहरूले प्रधानमन्त्री शाहसँग भेट र संवाद गरेका हुन् । सो अवसरमा भारत, पाकिस्तान, दक्षिण कोरिया, संयुक्त अधिराज्य, कतार, स्विट्जरल्याण्ड, फ्रान्स, इजरायल, जापान, बङ्गलादेश, जर्मनी, इजिप्ट, श्रीलङ्का, साउदी अरेबिया, चीन, संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्र सङ्घका राजदूत एवं नियोग प्रमुखहरूको उपस्थिति रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यस अवसरमा राजदूत एवं नियोग प्रमुखहरूले प्रधानमन्त्री शाहलाई बधाई ज्ञापन गर्दैै उहाँको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे । उनीहरूले नेपाली जनताको हितमा परिणाम दिनेगरी नेपाल सरकारका कार्यहरूमा समर्थन र सहयोगको प्रतिबद्धता वक्त गरेको थियो ।

सन्तुलित र व्यावहारिक परराष्ट्र नीतिमा नेपाल स्पष्ट रहेको बताउँदै प्रधानमन्त्री शाहले छिमेकी, मित्र राष्ट्र र विकास साझेदारहरूसँग विश्वास, पारस्परिक सम्मान र साझा समृद्धिमा आधारित सम्बन्धलाई अझ प्रगाढ बनाइने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री शाहले शान्ति सबैको साझा प्राथमिकता हुनुपर्नेमा जोड दिँदै विश्वभर रहेका नेपाली समुदाय एवं श्रम गर्न गएका सबै नेपाली नागरिकको सुरक्षा र हित नेपाल सरकारको उच्च प्राथमिकतामा रहने स्पष्ट पारे । सुशासन, आर्थिक विकास र नेपाली जनताको जीवनस्तर सुधारमा सरकार दृढ प्रतिबद्ध रहेको उनको भनाइ छ ।

सो अवसरमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाह, मुख्यसचिव सुमनराज अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई र अन्य सरकारी उच्च अधिकारीहरूको पनि उपस्थिति रहेको थियो ।