‘राइट टु रिकल’को अभ्यास अनुसार श्रममन्त्री बर्खास्त, सुशासनको पक्षमा रास्वपा निर्मम : रास्वपा नेता चौलागाईं


काठमाडौं, चैत २७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा नेता मधु कुमार चौलागाईंले आफ्नो पार्टी सुशासनको पक्षमा निर्मम रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको ’नेपाली बहस’ मा पत्रकार खेम बमसँग कुरा गर्दै उनले श्रम मन्त्रीलाई बर्खास्त गर्ने र स्वास्थ्य मन्त्रीलाई सचेत गराउने पार्टीको कदम सुशासनकै पक्षमा चालिएको स्पष्ट पारे ।

रास्वपाले नातावाद र कृपावादलाई कुनै पनि हालतमा स्वीकार नगर्ने भन्दै उनले पार्टीको निर्देशन अवज्ञा गरेको र परिवारका सदस्यलाई बिमा समितिको बोर्डमा लिएर गएको पाइएपछि श्रममन्त्री यादवलाई कारबाही गरिएको प्रष्ट पारे । उनले पार्टीले सुरुमै घोषणा गरेको राइट टु रिकलको अभ्यास गरेको बताए ।

उपसभामुख चयनबारे शीर्ष नेताहरूबीच भएको छलफलको आधिकारिक जानकारी पार्टीमा नआइसकेको उनको भनाई छ । यसैगरी, पछिल्लो समय भइरहेका पक्राउ र अनुसन्धानबारे बोल्दै नेता चौलागाईंले यो नियमित कानुनी प्रक्रिया भएको बताए । अदालतले अनुसन्धान अपुग देखेमा थप अनुसन्धानका लागि म्याद थप्न वा थुनामै राखेर अनुसन्धान गर्न सक्ने कानुनी व्यवस्था रहेको स्मरण गराए ।

प्रधानन्यायाधीश नियुक्तिको सन्दर्भमा भने नयाँ संसद् आएपछि संसदीय सुनुवाइ समिति गठन भइनसकेकोले प्रक्रिया लम्बिएको बताउँदै उनले प्रतिनिधि सभा नियमावली बनेर समिति गठन भएपछि मात्र नियुक्तिको प्रक्रिया अघि बढ्ने र त्यतिन्जेल कायममुकायमबाटै कामकारबाही चल्ने जानकारी दिए ।

रास्वपाको सिफारिसमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साह १४ दिनमै बर्खास्त भएका छन्। पदीय मर्यादा उल्लंघन र विवादमा फसेका साहलाई प्रधानमन्त्री बालेन्द्र शाहले विहिबार पदमुक्त गरेका हुन्, । हाल उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैँले राखेका छन्। यस कदमलाई रास्वपाले सुशासनको उदाहरणको रूपमा लिएको छ।