संसदभित्र भाषा र मर्यादाबारे उठेको विवाद थप चर्चामा


काठमाडौं, चैत २८ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज साम्पाङ राईले प्रतिनिधिसभा बैठकमा सांसदहरूलाई नाता जोडेर सम्बोधन गर्ने शैलीप्रति आपत्ति जनाएका छन्। उपसभामुख निर्वाचनअघि संसदलाई सम्बोधन गर्दै उनले “बहिनी”, “दाइ”, “मामा”, “भान्जा” जस्ता शब्द प्रयोगले संसदको मर्यादा कमजोर बनाउने तर्क गरेका हुन्।

उनका अनुसार संसदमा सबै सदस्य समान हैसियतका हुने भएकाले व्यक्तिगत वा पारिवारिक सम्बन्ध झल्किने शब्द प्रयोग गर्नु उपयुक्त हुँदैन। उनले केही पूर्व वक्ताहरूले आफ्नै पार्टीकी सांसद रूबीकुमारी ठाकुरलाई “बहिनी” भनेर सम्बोधन गरेको उल्लेख गर्दै त्यस्तो अभ्यास तत्काल बन्द गर्नुपर्ने मागसमेत गरे।

हर्कराजले संसदलाई सम्मानजनक र औपचारिक संवादको थलो बनाउनुपर्नेमा जोड दिए। उनले सम्बोधन शैली नै संस्थागत मर्यादासँग जोडिएको विषय भएकाले यसलाई हल्का रूपमा लिन नहुने धारणा राखे। संसदभित्रको बहस केवल राजनीतिक मतभेदमा सीमित नभई भाषिक शिष्टाचार र संस्थागत संस्कृतिसँग पनि जोडिएको उनले बताए।

यही विषय उठाउँदै उनले “बहिनी” शब्दप्रति आपत्ति जनाए पनि सामाजिक सञ्जालमा भने उनले फरक शैली अपनाएको देखिएको छ। हर्कराजले आफ्नै फेसबुक पोस्टमार्फत रूबीकुमारी ठाकुरलाई “नानी” भन्दै बधाई दिएका थिए। उक्त पोस्टमा उनले भावनात्मक अभिव्यक्ति प्रयोग गर्दै “तिमी”, “नानी” जस्ता अनौपचारिक शब्द प्रयोग गरेका छन्।

उनको अभिव्यक्ति र व्यवहारबीच देखिएको भिन्नताले सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा समेत बहस सिर्जना गरेको छ। कतिपयले संसदमा उठाइएको उनको तर्कलाई समर्थन गरे पनि व्यक्तिगत पोस्टमा प्रयोग भएको शैलीलाई लिएर प्रश्न उठाइएको छ। संसदभित्र भाषा र मर्यादाबारे उठेको यो विवाद अहिले थप चर्चामा रहेको छ।

पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठले संसदभित्र प्रयोग हुने सम्बोधनको भाषामाथि प्रश्न उठाउँदै लैङ्गिक समानताको पक्षमा बोलेकी छन्। सांसद हर्क साम्पाङलाई धन्यवाद दिँदै उनले औपचारिक वातावरणमा महिला सांसदलाई ‘बहिनी’ वा ‘चेली’ जस्ता पारिवारिक शब्द प्रयोग गरेर सम्बोधन गर्नु उचित नभएको भनाइ राखिन्।

उनले अघिल्लो अधिवेशनमा ‘चेली’ शब्द प्रयोग भएको र यस पटक ‘बहिनी’ भनेर सम्बोधन गरिएको उल्लेख गरिन्। यसअघि यस्ता शब्दको निहितार्थ नबुझेका पुरुष सांसदहरूबीच यस पटक भने एक पुरुष सांसदले यस विषयमा बोलेकोमा उनले धन्यवाद व्यक्त गरेकी छन्।

‘धन्यवाद सांसद हर्क ज्यू! अघिल्लो अधिवेशनमा ‘चेली’, यस पटक ‘बहिनी’! अघिल्लो अधिवेशनमा कुनै पुरुष सांसदले ‘चेली’ शब्दको निहितार्थ बुझ्न सकेनन्, तर यस पटक एउटा पुरुष सांसदले बोले!’ उनले सामाजिक सञ्जालमा लेखिन्।

उनले ‘चेली’ र ‘बहिनी’ शब्द आफैँमा अपमानजनक नभए पनि औपचारिक संसद् बैठकमा पुरुषलाई ‘माननीय सांसदज्यू’ भनेर सम्बोधन गरिँदा महिलालाई फरक शैलीमा सम्बोधन गर्नु असमान व्यवहारको संकेत भएको बताइन्। यसो भनिरहँदा महपलालाई बराबरीका रूपमा नहेरी पारिवारिक शब्दमा बाँधेर सीमित गर्न खोजिरहेको आरोप लगाएकी छन्।