पहिले काठमाडौंमा परराष्ट्रमन्त्रीस्तरीय बैठक, त्यसपछि उच्चस्तरीय भारत भ्रमणमा जाने बालेनको तयारी


काठमाडौं, चैत २९ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो दिएका छन् । परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार प्रधानमन्त्री शाहले १३ चैतमा पदभार ग्रहण गरेलगत्तै मोदीले विदेश मन्त्रालयमार्फत पठाएको बधाई सन्देशसँगै भारत भ्रमणको निम्तो दिएका हुन् ।

मोरिससमा रहेका मन्त्री खनालले भारतीय सञ्चारमाध्यमसँग कुराकानी गर्दै प्रधानमन्त्री शाहले समकक्षी मोदीको निमन्त्रणा स्वीकार गर्दै उपयुक्त समयमा भ्रमण गर्ने जवाफ पठाएको बताएका छन् । यसअघि भारतले नेपालका लागि भारतीय राजदूतमार्फत भ्रमणको निम्तो पठाउने गरेको थियो ।

निमन्त्रणासँगै सरकारले प्रधानमन्त्री शाहको भ्रमणको तयारी थालेको छ । शुक्रबार मौरिससमा भएको भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँगको भेटमा सुरुमा काठमाडौंमा दुई देशका परराष्ट्रमन्त्रीस्तरीय बैठक राख्ने र त्यसपछि उच्चस्तरीय भ्रमण तय गर्ने सहमति बनेको छ ।