आशा भोसले अस्पताल भर्ना


काठमाडौं, चैत २९ । भारतीय संगीत जगतकी प्रख्यात पार्श्व गायिका आशा भोसलेको स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको छ। ९२ वर्षीया गायिकालाई शनिबार साँझ दक्षिण मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको हो ।

उनकी नातिनी जनाई भोसलेले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिँदै आफ्नाी हजुरआमा आशा भोसलेलाई छातीमा संक्रमणका कारण अस्पताल लैजानुपरेको बताएकी छिन्। उनले हजुरआमालाई अत्यधिक थकान र छातीको संक्रमणका कारण अस्पताल भर्ना गर्नुपरेको जनाएकी छन् । अस्पताल भर्ना भएलगत्तै चिकित्सकहरूको टोलीले उनको उपचार सुरु गरेको छ। केही प्रारम्भिक रिपोर्टहरूमा उनलाई श्वासप्रश्वास र मुटु सम्बन्धी समस्या देखिएको उल्लेख गरिए पनि परिवारले भने संक्रमण र कमजोरीका कारण उपचार भइरहेको पुष्टि गरेको छ।

आशा भोसले भारतीय सिनेमाकी सबैभन्दा लोकप्रिय र भर्सटाइल गायिका हुन् । उनले ६ दशकभन्दा बढी समयको अवधिमा हजारौँ गीतहरू गाएकी छिन् । थुप्रै नेपाली गीतमा आवाज दिएकी उनले हिन्दीसहित मराठी, बंगाली, गुजराती, तमिल, तेलुगुलगायत धेरै भाषाहरूमा पनि गीत गाएकी छन् ।