इन्धन अभावलाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिकाले कर्मचारी र पदाधिकारीलाई उपलब्ध गराइएका सवारी साधनमा ‘कार पुलिङ’ प्रणाली लागू गरेको छ। कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार इन्धन खपत घटाउन र सम्भावित संकट टार्न यस्तो व्यवस्था गरिएको हो।
उनका अनुसार विश्वव्यापी इन्धन अभावका कारण पहिलेकै ढाँचामा सवारी सञ्चालन गर्दा अत्यावश्यक सेवामा समेत असर पर्न सक्ने भएकाले इन्धन बचत अपरिहार्य भएको छ। “इन्धनको सम्भावित समस्या न्यूनीकरण गर्न ‘कार पुलिङ’ लागू गरेका हौँ,” उनले भनिन्।
महानगरको ४८औँ कार्यपालिका बैठकले इन्धन कोटा कटौती गर्ने निर्णय गरिसकेको छ। सोही निर्णयअनुसार अब एउटै क्षेत्रमा बसोबास गर्ने कर्मचारी र पदाधिकारीलाई समूह बनाएर आलोपालो सवारी सञ्चालन गर्ने व्यवस्था गरिएको छ।
यस प्रणालीअन्तर्गत समूहका सदस्यले पालैपालो आफ्ना सवारी साधन प्रयोग गरी नजिकका सहकर्मीलाई समेत ल्याउने–लाने गर्नेछन्। महानगरका अनुसार यसले सवारी संख्या घटाउने र इन्धन खपत नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया