भावुक हुँदै हर्कले भने- ‘व्यक्तिगत इच्छा, चाहना, उद्देश्य र लक्ष्य बिनाको मान्छे म, म मरेको धेरै भयो’


काठमाडौं, चैत २९ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज राईले आफू व्यक्तिगत इच्छा र चाहनाभन्दा माथि उठेर पूर्ण रूपमा जनताका लागि समर्पित भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो पछिल्लो भावना सार्वजनिक गर्दै सांसद राईले आफू व्यक्तिगत रूपमा ‘मरेको धेरै भइसकेको’ र बाँकी जीवन देशको सेवामा अर्पण गरेको उल्लेख गरेका हुन् ।

दशकौँअघि नै आफ्नो लागि सोच्न छोडेको उल्लेख गर्दै राईले आफूलाई ‘जनताको दुःख समाधान गर्ने एउटा औजार’ को रूपमा चित्रण गरेका छन् । “न मलाई पीडा हुन्छ न खुसी, म पत्थर हुँ, निर्जीव ढुङ्गा हुँ,” उनले फेसबुकमा लेखेका छन्, “मेरा हरेक पाइलाले मलाई कतै पुर्‍याउनु छैन, पुर्‍याउनु छ त केवल यो देश र समाजलाई ।”

आफूलाई देशको बोझ उठाउने ‘अमुक भरिया’ भन्दै उनले लेखेका छन्,

“म मरेको धेरै भयो !” व्यक्तिगत इच्छा, चाहना, उद्देश्य र लक्ष्य बिनाको मान्छे म ! यो बाँचिरहेको जीवन मेरो जीवन होइन ! यो त जनताको दु:ख र समस्यालाई समाधान गर्ने प्रयास र संघर्ष मात्रै हो ! जनताको आवस्यकता पूरा गर्ने एउटा साधन, एउटा औजार ! मैले मेरो लागि सोच्न छोडेको दशकौं भै सक्यो ! न मलाई पीडा हुन्छ न खुसी ! म पत्थर हुँ निर्जीव ढुङ्गा ! माटो हुँ म ! मलाई दुख्दैन ! अहँ दुख्दैन र दुख्नु पनि हुँदैन ! मेरो कुनै आफ्नो गन्तव्य छैन ! मेरा हरेक पाइलाहरुले मलाई कहिँ पुराउनु छैन ! पुराउनु छ त यो देशलाई यो समाजलाई ! म रित्तो हिँड्ने मान्छे तर मेरा पिठ्युँमा लादिएका भारी मेरो होइन, सबै अरुकै ! यो अर्थमा म देशको बोझ उठाउने एउटा अमुक भरिया ! म रुँदिन ! मेरा आँखाबाट बग्ने आँशु मेरो आफ्नो होइन ! त्यो त यो देशले पोख्न खोजेको पिडाभाव मात्रै ! मलाई गरिने हजारौँ गाली र अपमानले मेरो चिहानमा एउटा इतिहास लेखियोस् म कति घृणित र पतीत थिएछु भन्ने ! यी सब गाली र घृणा मैले यो देशलाई माया गर्दा पाएका अन्मोल उपमाहरु हुन् ! दिइएका यी उपमाहरुलाई मेरो सलाम ! आफैलाई त्यागेर देश अंगाल्नेहरुको नियति यस्तै हुन्छ संसारमा देखेकै बुझेकै कुरा हो ! अरुको निम्ति समर्पित मान्छे ! सायद अरुलाई नचाहिएको पनि हुन सक्छ ! अकालमा मर्ने, भोकै बस्नु पर्ने… काटमार र हत्याहिंसा देखेर भगवान बुद्धले ज्ञान खोज्नु भो ! तर मलाई अवस्था बदल्नु छ तर म मरेको धेरै भो ! बाँचेको भनेको एउटा सपना अनि संकल्प मात्रै ! अरुको जीवन बाँचिरहेको समर्पित यो थोत्रो शरीरको अवसान हुन मात्रै बाँकी ! हो यही हुँ म ! म र मेरो भन्नु पर्ने कुरा केही छैन ! हो यही हुँ म ! तर, म मरेको धेरै भयो !!! मेरो मुखबाट निस्केको हरेक बोलि मेरो आफ्नो लागि होइन ! मेरो शरीरबाट बग्ने पनिसा मेरो लागि बगेको होइन ! मेरो छातीमा धड्किएको मुटु त्यो पनि मेरो लागि होइन, यो देशकै लागि ! यो माटो सापटी लिएर उभिएको सानो कदको मेरो थोत्रो शरीर पनि मेरो आफ्नो होइन ! हो म मरेको धेरै भयो !!!का छन् ।