काठमाडौं, चैत ३० । प्रधानमन्त्री वालेन्द्र शाह र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।
प्रधानमन्त्री शाहकी पत्नी सविना काफ्लेको नाममा रहेको १९० तोला सुन पैत्रिक रूपमा प्राप्त भएको उल्लेख छ । काठमाडौं धनुषा र महोत्तरीमा बुबाआमाको नाममा घरजग्गा रहेको जनाइएको छ । उनले सामाजिक सञ्जालबाट एक करोड ४६ लाख रुपैयाँ आम्दानी गरेको विवरण उल्लेख गरेका छन् ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सम्पत्ति विवरणमा चारवटा घर र अपार्टमेन्ट रहेको उल्लेख गरेका छन् । उनले सम्पत्ति विवरणमा विदेशको जागिर सम्पत्तिको मुख्य स्रोत रहेको देखाएका छन् । बैंकमा एक करोड ९० लाख रुपैयाँ र ४५ तोला सुन उनको विवरणमा समावेश छ । उनले विभिन्न जलविद्युत् आयोजना र एक विकास बैंकमा सेयर रहेको जनाएका छन् ।
गृहमन्त्री सुधन गुरुङको धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ । सो जग्गा लगानीबाट जोडेको उल्लेख गरेका छन्।
उनका पिता दिलबहादुरको नाममा चितवनको भरतपुर १८ गुञ्जनगरमा ३० कठ्ठा र बाजे रामसलको नाममा गोरखाको चुननुब्रीमा २ सय २१ रोपनी जग्गा रहेको छ । गृहमन्त्री गुरुङको सेयर मार्केटमा चार करोड ३१ लाख रुपैयाँ बढी लगानी रहेको छ । ८९ तोला सुन र विभिन्न कम्पनीमा सेयर लगानी रहेको उल्लेख गरेका छन् ।
परराष्ट्रमन्त्री शिशिर खनालका बुबा सूर्यभक्त खनालको नाममा काठमाडौंमा पाँच आनाको घर छ । बुबाकै नाममा तनहुँ, नवपुर र नेपालगन्जमा २८ रोपनी दुई कट्ठा जग्गा छ । त्यसैगरी १३ लाख रुपैयाँ नगद र २२ तोला सुन रहेको विवरणमा उल्लेख गरेका छन्। उनको र श्रीमतीको नाममा विभिन्न कम्पनीमा सेयर रहेको छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले १५ तोला सुन र ५० तोलामा चाँदी रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्। वीरेन्द्रभक्त श्रेष्ठ र विकास श्रेष्ठका नाममा घर, विभिन्न बैंकमा ६४ लाख ६३६ रुपैयाँ नगद रहेको छ । उनीसँग विभिन्न कम्पनीको सेयर र सवारीसाधन पनि रहेको छ ।
कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमको काठमाडौं र चितवनमा घर रहेको विवरण सार्वजनिक भएको छ । उनका श्रीमान्का नाममा काठमाडौंमा र सासूका नाममा चितवनमा घर रहेको उल्लेख .छ । कानुनमन्त्री गौतमसँग १० लाख ५० हजार रुपैयाँ नगद विभिन्न बैंकमा मौज्दात छ । राष्ट्रिय वाणिज्य बैंकबाट २० लाख रुपैयाँ ऋण लिएकामा सात लाख रुपैयाँ चुक्ता गरेको उनले सम्पत्ति विवरणमा समावेश गरेकी छन्। यस्तै, एभरेष्ट बैंकबाट उनले ऋण लिएको देखिन्छ भने उनीसँग १५ तोला सुन, एक तोला हीरा र नौ तोला चाँदी रहेको छ ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीको २० वटा कुखुरा र एउटा कुकुर रहेको छ । उनीसँग एउटा स्कुटर, तीनवटा ल्यापटप र दुईवटा मोबाइल छ । यस्तै, श्रीमान्का नाममा एउटा पल्सर मोटरसाइकल छ । उनको नाममा नगद ५० हजार रुपैयाँ, बैंकमा श्रीमान् र उनका नाममा १५ लाख रुपैयाँ बराबरको नगद रहेको विवरणमा समावेश छ । मन्त्री बादीको १८ तोला सुन, १५ तोला चाँदी छ । सुन र चाँदी विवाहमा प्राप्त भएको सम्पत्ति विवरणमा समावेश छ । त्यस्तै, सुर्खेतमा ८९।६५ वर्गमिटर जग्गा रहेको उल्लेख छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालको ९० लाख रुपैयाँ बराबरको नगद बैंकमा रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उनीसँग ३० तोला सुन, ५० तोला चाँदी र परिवारको नाममा रुपन्देहीमा एक कट्ठा १० धुर जग्गामा रहेको घर, नवलपरासीमा १० कट्ठा १५ धुर जग्गा, स्याङ्जामा सात रोपनी खेत र २२ रोपनी बारी रहेको मन्त्री लम्सालले आफ्नो सम्पत्ति विवरणमा समावेश गरेका छन्।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले काठमाडौंमा रहेको घर श्रीमान्को आयका रूपमा उल्लेख गरेकी छन्। यस्तै, काठमाडौं र बारामा जग्गा रहेको उल्लेख गरेकी छन भने उनीसँग २५ तोला सुन, विभिन्न बैंकमा रु २४ लाखबराबरको बचत रहेको विवरणमा समावेश छ । उनको २० लाख रुपैयाँ बराबरको ऋण र ४४ लाख रुपैयाँबराबरको गाडी रहेको छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीको पाँच तोला सुन र एक सय तोला चाँदी रहेको छ । विभिन्न बैंकमा एक लाख २६ हजार रुपैयाँ मौज्दात रहेको उल्लेख गरेकी उनले माइतीले दिएको दुईवटा बाख्रा र १० वटा कुखुरा रहेको विवरणमा समावेश छ ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको काठमाडौं र महोत्तरीमा जग्गा रहेको छ । उनीसँग १८० तोला सुन, दुई किलो चाँदी, दुई सेट हिराको गहना रहेको सम्पत्ति विवरणमा समावेश छ। यस्तै, विभिन्न बैंकमा बचत र विभिन्न कम्पनीमा तीन करोड ३८ लाख रुपैयाँबराबरको लगानी रहेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताको सासूसुसुराको नाममा घर जग्गा रहेको उल्लेख छ । यस्तै, ३० तोला सुन र ५० तोला चाँदी रहेको छ । विभिन्न बैंकका बचत, विभिन्न कम्पनीको सेयर तथा एउटा सवारीसाधन रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री खड्कराज पौडेलको भाउजु सन्तोषी शर्माको नाममा पोखरा महानगरपालिका–१४ मा दुई करोड ६० रुपैयाँमा खरिद गरेको घर रहेको उल्लेख छ । पोखरामा पैत्रिक रूपमा प्राप्त भएको जग्गा, ११ तोला सुन र पाँच तोला चाँदी रहेको उनको सम्पत्ति विवरणमा समावेश छ । विभिन्न बैंक र सहकारीमा नगद तथा ऋण लिएको समेत उल्लेख छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले श्रीमतीको नाममा काठमाडौंंमा घर रहेको उल्लेख छ । स्वदेश तथा विदेशमा गरेको कार्यबापतको तलबभत्ता र आम्दानीबाट घर जग्गा खरिद गरेको सञ्चारमन्त्रीले जनाएका छन् । उनको विवाहमा पुख्र्यौली सम्पत्तिबाट किनेको तथा उपहार प्राप्त गरेको सुन र चाँदी, १० लाख ३४ हजार ३८६ रुपैयाँ बराबरको बचत रहेको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवको सप्तरीमा पैत्रिक रूपमा प्राप्त घर तथा जग्गा रहेको छ । उनको ८० तोला सुन र १५० तोला चाँदी, विभिन्न बैंकमा नगद रहेको जनाइएको छ ।




प्रतिक्रिया