प्रधानमन्त्री र मन्त्रीहरुसँग अस्वाभाविक सम्पत्ति, छोटो अवधिमा आर्जित सम्पत्तिको स्रोत के ?


काठमाडौं, ३० चैत । प्रधानमन्त्री बालेन्द्र शाह र उनी नेतृत्वका मन्त्रिपरिषद्का मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । हिजो (आइतबार) सार्वजनिक भएको प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरणले धेरैको मनमा प्रश्न सिर्जना गरेको छ ।

सार्वजनिक भएको विवरण अनुसार प्रधानमन्त्री शाहसँग सुन र हिरामात्रै १९० तोला रहेको छ । त्यसैगरी मन्त्री गौरी कुमारी यादवसँग सुन १८० तोला, मन्त्रीहरु सुधन गुरुङसँग ८९ तोला, डा.स्वर्णिम वाग्लेसँग ४५ तोला, शिशिर खनालसँग २२ तोला, विराजभक्त श्रेष्ठसँग १५ तोला, सुनिल लम्सालसँग ३० तोला, सोविता गौतमसँग १८ तोला, सबैभन्दा गरिब मन्त्रीको उपमा पाएकी सीता वादीसँग १८ तोला, प्रतिभा रावलसँग २५ तोला, निशा मेहतसँग ३० तोला, सस्मित पोखरेलसँग २५ तोला, खडकराज पौडेलसँग ११ तोला, डा.विक्रम तिमल्सिनासँग १९.५ तोला, गीता चौधरीसँग ५ तोला र रामजी यादवसँग ८० तोला सुनमात्रै रहेको विवरण सार्वजनिक भएको छ ।

प्रधानमन्त्री शाह नेतृत्वको मन्त्रिपरिषद्मा अहिले अधिकांश मन्त्रीहरु ४० वर्ष मुनिका रहेका छन् । सुन भनेको विलासी वस्तु हो । मान्छेले आफ्नो गाँस, बास, कपास, शिक्षा, स्वास्थ्यजस्ता अनिवार्य आवश्यकता पूरा भएपछि मात्रै विलासिताको वस्तुको परिकल्पना गर्छ ।

पछिल्लो अवस्था अनुसार पढाइ सकाउनका लागि सरदर २५ देखि २८ वर्ष लाग्छ । अनि ४० वर्ष मुनिका अधिकांश मन्त्रीहरुको यतिधेरै सुन किन्ने हैसियत चाहिँ कहाँबाट बन्यो भन्ने धेरैको प्रश्न रहेको छ । केही नेताहरुले त कांग्रेसले वर्षौदेखि पुँजिपतिको पार्टी भनेर पाएको उपमा अब रास्वपा र तिनका नेतातिर सरेको टिप्पणी गर्नसमेत भ्याएका छन् ।

यता श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले मन्त्रीहरुले सम्पत्ति सार्वजनिक गरेर मात्रै नहुने र त्यसको स्रोतसमेत पुष्टि गर्नुपर्ने माग गरेका छन् । कतिपयले प्रधानमन्त्री र मन्त्रीहरुले आफूले सार्वजनिक गरेको सम्पत्तिको आयकर तिरेको विवरण पनि पेश गर्न सक्नुपर्ने आवाज उठाउन थालेका छन् ।

यता प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङसँग भूमि सम्बन्धी ऐन २०२१ ले तोकेको हदबन्दी भन्दा बढी जग्गा जमिन रहेको पनि पुष्टि भएको छ । हदबन्दी भन्दा बढी रहेको जमिन सरकारले जुनसुकै बेला पनि जफत गर्न सक्ने कानूनी व्यवस्थासमेत रहेको छ ।