काठमाडौं, चैत ३० । नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले पार्टी परित्याग गरेका छन्। पछिल्लो समय पार्टी नेतृत्व, विशेषगरी सभापति गगन थापासँग असन्तुष्ट रहेका एवं पूर्वसांसद बजगाईंले आइतबार साँझ सामाजिक सञ्जाल एक्समार्फत कांग्रेस परित्याग गरेको जानकारी दिएका छन्।
पार्टीभित्रको आन्तरिक खिचातानी र कार्यशैलीप्रति तिखो टिप्पणी गर्दै उनले कांग्रेस अब विचलित मानसिकता भएकाहरूको भीड बनेको आरोप लगाएका छन्। उनले लेखेका छन्, ‘अन्ततः कांग्रेसमा बसिएन, सज्जनका हातमा गोबर छ। पिठ्युँमा घाँसको भारी बोकेर हिँडिरहेका छन्, अनुहारमा सम्भावना बोकेका सोझा नागरिकले पछाडि मात्र सत्य थाहा पाउनेछन्।’
बजगाईंले पार्टी क्रियाशील सदस्यता खारेजीको घोषणाप्रति पनि असन्तुष्टि पोखेका छन्। सभापति थापातर्फ संकेत गर्दै उनले प्रश्न गरेका छन्, ‘त्यो (सदस्यता) फेरि-फेरि भर्न किन पर्थ्यो र? त्यसको औचित्य नै थिएन नि।’ केही निश्चित समूहले चरणबद्ध रूपमा पार्टी कब्जा गर्ने अभियान चलाएको भन्दै उनले नेतृत्वको नियतमाथि प्रश्न उठाएका छन्।




प्रतिक्रिया