भोजपुरमा आगामी वैशाख ६ देखि नवौँ मेयर गोल्डकप हुँदै


भोजपुर, ३० चैत । आगामी वैशाख ६ देखि १२ गतेसम्म भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा नवौँ संस्करणको ‘मेयर भोजपुर गोल्डकप’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।सञ्चालन हुने प्रतियोगिताबारे आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

प्रतियोगितामा ‘ए’ डिभिजन क्लबसहित कुल आठ टोलीको सहभागिता रहनेछ । प्रतियोगितालाई अझ प्रतिस्पर्धात्मक र आकर्षक बनाउन उत्कृष्ट टोलीहरूको सहभागिता सुनिश्चित गरिएको आयोजकले जनाएको छ ।

जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीनकुमार सुवालका अनुसार प्रतियोगिताका विजेताले नगद रु पाँच लाख र उपविजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्नेछन् । साथै, उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधामा विशेष पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितामा सातदोबाटो युथ क्लब (ललितपुर), एपिएफ फुटबल क्लब (काठमाडौँ), प्लानिङ ब्वाइज युनाइटेड (काठमाडौँ), एल एक्स सिटी (मोरङ), सङ्खुवासभा–११ (सङ्खुवासभा), केपिलासगढी गाउँपालिका (खोटाङ), द गोर्खाज फुटबल एकेडेमी (उदयपुर) र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घको सहभागिता रहनेछ ।

पुरुषतर्फको प्रतियोगिता सञ्चालनका लागि भोजपुर नगरपालिकाले रु ३० लाख बजेट विनियोजन गरेको छ ।

यसैबीच, वैशाख १७ देखि २० गतेसम्म आठौँ संस्करणको ‘मेयर कप’ महिला फुटबल प्रतियोगिता पनि आयोजना गरिनेछ । महिला फुटबल प्रतियोगितामा विजेताले रु एक लाख ६ हजार र उपविजेताले रु ५१ हजार ५५५ नगद पुरस्कार प्राप्त गर्नेछन् । बाहिरबाट सहभागी हुने टोलीहरूलाई तयारी खर्चस्वरूप रु २० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनकै अवसरमा यसअघि सम्पन्न प्रतियोगिताहरूको आय–व्यय विवरण सार्वजनिक गरिएको छ । रासस